सहकारी संघलाई सबैको बनाउँछौं -विनोद पराजुली, नवनिर्वाचित अध्यक्ष जिल्ला सहकारी संघ लि. काभ्रे

20161127_085508

जिल्ला सहकारी संघ लि. को ३५ औं साधारण सभा एवं अधिवेशनबाट आइतबार बिहान विनोद पराजुलीको अध्यक्षतामा २२ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । नवनिर्वाचित अध्यक्ष पराजुलीसँग हिजो बिहान गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ः

० अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई छ ।
धन्यवाद !
० दलिय चुनाव झैं भएको अधिवेशनबाट अध्यक्ष बन्नुभयो, जितेपछिको अनुभव कस्तो छ ?
चुनावी टिमहरुको बनावट हेरेर राजनीतिक भनेर अथ्र्याउनु भएको होला । वास्तवमा, अहिलेको परिवर्तित परिस्थितिमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा परिवर्तित भएको छ, यो अवस्थामा कसैले विचार आस्था बोकेकै भरमा बिल्ला लगाएर चुनाव लडे भन्न मिल्दैन । विचार आस्था जे भए पनि सहकारी अभियानमा नै लागेर सहकारीकर्मी साथीहरुको समूहबाट नेतृत्व गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको हो । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, त्यहींबाट श्रेष्ठता खोज्ने क्रममा जिल्लाका सहकारीकर्मी अभियान्ता साथीहरुको विश्वासले नै हाम्रो टिमलाई विजय गराउनु भयो भन्ने मैले विश्वास र गर्व गरेको छु ।
० यसरी निर्वाचन हुँदा काम गर्न कतिको सजिलो होला ?
जिल्लाका सबै सहकारीकर्मीहरुको, सहकारी संघसंस्थाहरुको साझा नेतृत्व छाता संघ जिल्ला सहकारी संघ भएकोले चुनावी प्रतिस्पर्धाको क्रममा हामीले जे जस्तो समूह निर्माण गरेर प्रतिस्पर्धामा उत्रिएको भए पनि आगामी दिनमा यो संघलाई थप सुदृढ र सबल बनाउनको लागि मेरो नेतृत्वले र मैले चुनावी कुनै पनि कुराहरुलाई अन्यथा लिने, बुझ्ने र त्यो किसिमको व्यवहार नगरी जिल्लाका सबै अभियान्ता, अगुवाइ साथीहरुको साथ र सहयोग जुटाएर हामी बिना पूर्वाग्रह यो कामलाई अगाडि बढाउँछौं । त्यसकारण चुनावी परिवेशले मात्र फरक पार्छ भन्ने मलाई लाग्दैन ।
० नयाँ नेतृत्वबाट सहकारीकर्मीहरुले फरक के पाउँछन् ?
अहिले डिभिजन सहकारी कार्यालयमा करिब १५ सयको हाराहारीमा सहकारी संघसंस्थाहरु दर्ता भएको देखिन्छ । यद्यपी, त्यो मध्ये एक तिहाई बराबरको संख्या मात्रै यो जिल्ला सहकारी संघमा आबद्ध भएको छ । ती आबद्ध भएका संघसंस्था र विविध कारणले आबद्ध हुन नसकेका जति पनि संघ संस्थाहरु छन्, ती सबै खाले सहकारी संघ संस्थाहरुले एउटा दरिलो, भरासिलो एउटा छाता संघको रुपमा जिल्ला सहकारी संघलाई महसुस गर्न पाउने छन् । यसको लागि के–कस्तो कार्यक्रम बनाएर अगाडि बढ्नु उपयुक्त हुन्छ, साथीहरुको टिममा छलफल गरेर अरु अनुभवी सहकारीकर्मीहरुसँग विचार परामर्श गरेर निकट भविष्यमा ठोस कार्यक्रम लिएर आउँछु र सहकारी संघसंस्थाहरुलाई जिल्ला सहकारी संघ आफ्नै छाता संघ हो भन्ने बनाउने प्रयास गर्छु ।
० योजनाहरु कहिलेसम्म बनाउनुहुन्छ ?
अहिले त भर्खरै निर्वाचित भएका छौं । केही समय लगत्तै यो विषयमा साथीहरुसँग छलफल गर्छाैं । हाम्रो कार्य अवधि ३ वर्षको छ र त्यो अवधिमा परिणाममुखी हिसाबबाट कार्ययोजना बनाउँछौं, योजनाहरु निर्माण गर्छाैं र त्यो योजना निर्माण गरिसकेपछि त्यही योजना मुताबिक हामी अघि बढ्छौं ।
० नवनिर्वाचित अध्यक्षको तर्फबाट केही… ?
जिल्ला सहकारी संघको ३५ औं साधारण सभामा म र मेरो टिममा रहेको सिंगो पंक्तिलाई जो जिल्लाका सहकारी अभियान्ता साथीहरु प्रतिनिधि बनेर आउनुभएको थियो, उहाँहरुले भरपुर विश्वास गरेर शानदार मतका साथ विजय गराउनुभएको छ । त्यो अवसरमा सिंगो जिल्ला सहकारी संघ र मेरो व्यक्तिगत तर्फबाट समूहको तर्फबाट सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु र आभार पनि व्यक्त गर्न चाहन्छु । साथसाथै म चुनावी प्रतिस्पर्धामा हामी जे जसरी प्रस्तुत भएपनि आगामी दिनहरुमा पुनः एकताबद्ध भएर “एक आपसमा हातेमालो गरेर अगाडि बढ्ने” भन्ने सहकारी मान्यतालाई लिएर आपूm कति पनि विचल्लित नभई साथीहरुको साथ र सहयोग लिएर अगाडि बढ्ने कुराको प्रतिबद्धता र विश्वास दिलाउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *