
शारदाबतासे,इजरायलमा बसेर कृषि र पशु पालन सम्बन्धी अनुभव लिएका शारदाबतासेका राजेन्द्रप्रसाद हुमागाईं आफ्नै देश र आफ्नै ठाउँबाट केही गर्न सकिन्छ भन्ने उदाहरणीय अगुवा किसानको रुपमा स्थापित बनेका छन् ।
उनी अहिले काभ्रे जिल्लाको शारदाबतासे ३ मा फूल्चोकी फलपूmल कृषि उपज तथा पशुपालन उद्योग फर्म सञ्चालनको तयारीमा छन् । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को ४३ लाख ४५ हजार सहयोग र फर्मको ६४ लाखको लगानीमा सुरु गरिएको फर्मले बाख्रापालन, घाँस खेती, जैविक मल उत्पादन र प्रयोगमा जोड दिँदै उन्नत जातको बाख्रा र बोका उत्पादन गरी समुदायलाई आर्थिक उन्नतिमा सघाउँदै जाने लक्ष्य लिएको छ ।
फर्मले केही दिन अघि स्थानीय २५ जना कृषकलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेको छ । कृषि र पशुपालन सम्बन्धी सार्वजनिक सुनुवाई सहित आयोजना गरिएको तालिममा जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक मणिप्रसाद सापकोटा लगायतले तालिम दिएका थिए । फर्मलाई नमूनाको रुपमा सञ्चालन गर्न प्याक्टले सहयोग गरेको र १५ लाख भुक्तानी दिइसकेको र ४३ लाख मध्ये बाँकी रकम चाँडै निकासाको चरणमा रहेको भन्दै संचालक राजेन्द्रप्रसाद हुमागाईंले प्याक्टको सहयोगले जनताको जीवनस्तर र आर्थिक विकासमा टेवा पु¥याएको बताए ।