निर्वाचन आयोगले मतदानको क्रममा यी प्रकारको गल्ती नगर्न आग्रह गरेको छ । मतदान केन्द्र पुगेपछि तपाईको हातमा सेतो कागजमा नीलो मसीले प्रिन्ट भएको मतपत्र प्राप्त हुन्छ ।
त्यसअघि तपाईले तपाईको मतदाता नामावलीको क्रम संख्या पत्ता लगाएर जानुपर्छ । त्यही क्रम संख्याका आधारमा तपाइको नामावली पत्ता लाग्छ र तपाईलाई मत हाल्ने अनुमति हुन्छ ।
तपाईले प्राप्त मतपत्रमा मतदान अधिकृतकै अगाडि हस्ताक्षर गर्नुपर्छ । त्यसपश्चात मतदान अधिकृतले हस्ताक्षर गरेपछि तपाईको हातमा रहेको मतपत्र मतदान गर्न योग्य हुनेछ । अब तपाईले मतदान गर्दा ध्यान दिनुपर्छ । तपाईले मतचिन्ह भन्दा बाहिरको घेरा छुने गरी मत संकेत गर्न पाउनु हुन्न । जुन निर्वाचन चिन्हमा मतदान गर्न चाहनुभएको हो, त्यही चिन्हभित्र स्वस्तिक छाप लगाउनुपर्छ । त्यहाँभन्दा बाहिर मत संकेत भयो वा घेरा छोइयो भने तपाईको मत बदर हुनेछ ।
यसैगरी दुई मतचिन्हको वीचमा मत संकेत गर्नु । यदि त्यसरी मतसंकेत गरेमा पनि तपाईको मत बदर हुनेछ । अर्को पक्ष हो स्वस्तिक छापको सट्टा औँठाछाप वा संकेत प्रयोग गरेमा । मतदानको क्रममा स्वस्तिक छाप नभेटेमा वा अन्य कारण कलमले ठीक चिन्ह लगाउने र औंठा छाप लगाउन सक्छन् । कोठाभित्रै पर्नेगरी पेनले मतसंकेत गरेमा वा औँठाछाप लगाए पनि त्यस्तो मत बदर हुनेछ । त्यसैले हरेक मतदाताले मत संकेतका लागि स्वस्तिक छापकै प्रयोग गर्नु पर्नेछ ।
मत बदर हुने अर्को कारण हो, मतसंकेत चिन्ह नबुझिने गरी छाप लगाउनु । मतदाताले मतसंकेतका क्रममा स्वस्तिक छापमा आवश्यक भन्दा बढी मसी प्रयोग गरी वा दुई वा सो भन्दा बढी पटक मतचिन्ह प्रयोग गरेमा तपाईले प्रयोग गरेको मतचिन्ह नचिनिने हुन्छ । त्यस्तै मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र प्रयोग गरी यदि तपाईले मतदान गर्नुभयो भने त्यस्तो मतपत्र मान्य हुँदैन । अतः यि कुरामा ध्यान दिएर मतदान गर्नुहोला ।