
संगिक्षा फिल्म्स र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा मलेसियामा ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ हुने भएको छ ।
३२ विधामा अवार्ड दिइने अवार्ड जुन महिनाको १५, १६ र १७ तारिखमध्ये एक दिन हुने मलेसियाका लागि आयोजक बिक्रमजंग शाहले जानकारी दिए । आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीतका भिडियोहरु मध्येबाट उत्कृष्ट म्युजिक भिडियो, निर्देशक, छायांकार, सम्पादक, मोडल पुरुष, मोडल महिला तथा नृत्य निर्देशक छानिने शाहले बताए । संगिक्षा फिल्म्सका प्रमुख मनोज केसीले पहिलेदेखि नै आफूहरुले मलेसियामा अवार्ड आयोजना गर्न खोजेको र तेश्रो पटक संभव भएको बताए । ‘यो कार्यक्रम कलाकारको सम्मान मात्र होइन विदेशमा नेपाली संगीत बजार बिस्तार गर्ने माध्यम पनि हो । यसरी तेस्रो पटक कार्यक्रम घोषणा गर्न पाउँदा खुशी लागेको केसीले बताए ।
मलेसियामा विक्रम जंग शाह र जयराम तिमिल्सिनाले अवार्डको व्यवस्थापन गर्नेछन् । मलेसियामा अवार्डको व्यवस्थापन गर्न लागेका शाहले यसपटक भिन्न तरिकाले अवार्ड आयोजना गर्ने बताए । आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा लामो समयदेखि नेपाली म्युजिक भिडियो क्षेत्रमा योगदान पु¥याउँदै आएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने बताइएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा हुने कार्यक्रमको आयोजना नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा हुन लागेको हो ।