सञ्चारकर्मीको भूमीका महत्वपूर्णः प्रजिअ/ जनताको मन जित्न प्रहरी लागिपर्छः प्रहरी प्रमुख

धुलिखेल,जिल्लामा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले पत्रकारहरुसँग छुट्टाछुट्टै भेटघाट गरी जिल्लामा शान्ति सुरक्षा लगायतका कार्य गराउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले संघीय संरचनामा मुलुक गएसँगै सञ्चारकर्मी र सञ्चार माध्यमले अह्म भूमिका खेल्न सक्नुपर्ने बताए । प्रजिअ राउतले जनताको मानव अधिकारको संरक्षण र समद्र्धन गर्नका लागि सत्य तथ्य र निष्पक्ष सूचना दिन जरुरी रहेको र यस्तो अवस्थामा सञ्चारकर्मीको भूमीका झनै बढेको बताए । विपन्न, पिछडिएका, शोषित, पीडित, एकल महिला, दलितहरुका बिषयलाई उजागर गरेर राष्ट्रको नीति अनुसार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सबैको साथ जरुरी रहेको बताए । सँगै राउतले सरकारको निर्णय नमाने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताए ।
त्यसैगरी हालै जिल्लाको प्रहरी प्रमुख भएर आएका एसपि रविराज खड्काले पनि हिजो पत्रकारहरुसँग अन्तक्र्रिया गरी सुरक्षित काभ्रे अभियान सफल पार्न आफू लागिपर्ने बताए । उनले प्रहरीको छविलाई राम्रो बनाउँदै जनताको विश्वास जित्न लागिपर्ने बताए । प्रहरीको पहिलो काम शान्ति सुरक्षा स्थापना गर्नु र समाजलाई भयरहित वातावरण दिनु हो भन्दै ती कार्य पूरा गर्न आफू लागिपर्ने बताए । मानव अधिकारको सम्मान, नागरिकको सुरक्षा र अमन चयनमा कुनै कमी नहुनेमा ढुक्क रहन एसपि खड्काले काभ्रेबासीलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *