सूर्यविनायक–धुलिखेल खण्डको सडक चार लेनको बन्दै


बनेपा, सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना अन्तर्गतको दोस्रो खण्ड सूर्यविनायक–साँगाको ठेक्का लागेको छ । आयोजनाले गत कात्तिकमा यस खण्डको सडक विस्तार गर्न ठेक्का आह्वान गरेसँगै सूर्यविनायक–धुलिखेल सडक विस्तारको प्रस्तावित योजनाले छिटै गति लिने भएको छ ।
यो खण्ड विस्तार गर्न ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँमा लाग्ने भएको छ । यसका लागि जेभीका रुपमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले ठेक्का पाएको हो । यस ठेक्कामा ३ वटा जेभीसहितका निर्माण कम्पनीहरु प्राविधिक रुपमा पास भएका थिए । जसमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभी, स्वछन्द, एपेक्स, शक्ति जेभी र कालिका कन्स्ट्रक्स आर्थिक प्रस्ताव पेस गर्न सक्षम भएका थिए । यसमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले सबैभन्दा कम कबोल गरेकाले ठेक्का पाएको हो ।

यो आयोजनाको पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार गर्न ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा यसअघि नै ठेक्का लागिसकेको छ । यसको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको हो । अहिले उक्त ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । अब ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनु पर्नेछ । यस्तै पुल निर्माणको लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि डीपीआरमा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत अनुमान गरिएको छ ।

यो आयोजनामा २०÷२० मिटरको तीनवटा पुल बन्ने छ । डीपीआर अनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ । यसमा सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको छ । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य ४ लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण हुन्छ । साथै बीचमा ३ मिटरको मेडियन निर्माण गर्नुपर्ने डिजाइन छ । ६ लेन विस्तार गर्ने योजना बनेको भए पनि वर्षौदेखि काम हुन सकेको छैन । तत्कालै के गर्न सकिन्छ भन्ने विषयमा बसेको सडक विभागको बैठकले हालको सडकलाई स्तरोन्नति गरेर चार लेनको बनाउदा उपयुक्त हुने निष्कर्ष निकालेपछि प्रक्रिया अघि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *