बनेपा, आज पुषको २५ गते भएको छ । दिनप्रतिदिन देशभर चिसो बढ्दै छ । मौसम पूर्वानुमान महाशाखाले पनि देशभर चिसो बढेको भन्दै मौसमी तापमान थप घट्ने जनाउदै सचेत रहन भनेको छ । चिसो कै कारण केहिले ज्यान गुमाएका छन । चिसो मौसममा खासगरी वालवच्चा, सुत्केरी, गर्भवती, बुढाबुढी, रोगीहरुलाई बढी समस्या हुन्छ । चिसोबाट बच्नका लागि उचित व्यवस्थापन गरिएन भने रुँघा, खोकी, ज्वरो, निमोनिया हुने खतरा रहन्छ । त्यसैले चिसोमा स्वास्थ्य बचाउन विशेष सावधानी अपनाउनु पर्छ ।
चिसोेमा वाह्य वातावरणसँग शरीरको तापमान सन्तुलन राख्न केहि प्राकृतिक विधी अपनाउनु पर्छ । जस्तो–तातो पानी, सुप वा झोलयुक्त पदार्थ सेवन गर्ने । न्यानो लुगा लगाउँने । घर–कोठालाई न्यानो राख्ने । घर कोठा न्यानो राख्ने भन्दैमा झ्याल ढोका बन्द गरेर हिटर ताप्ने, आगो बाल्ने गल्ती गर्नु हुँदैन । घर–कोठामा अक्सिजन आउजाउ गर्ने व्यवस्था भने हुनुपर्छ ।
केही घरेलु उपायहरु छन्, जसले चिसोको समस्याहरुबाट सजिलै जोगिन सकिन्छ । चिसो मौसममा कब्जियतको समस्या हुन्छ । खासगरी पाचनसम्वन्धी कारणहरुले गर्दा यो समस्या झनै बढेर जान्छ । यसबाट बच्नका लागि पानी अत्यधिक पिउनुपर्छ । भोजनपछि जीराको धुलो खानाले पाचन क्रिया ठिक रहन्छ । मानिसहरुलाई चिसो हावाका कारण टाउको दुख्ने समस्या हुन्छ । यो सजिलैसँग कम हुँदैन । यसो भएमा दुधमा जाइफल मिसाएर टाउकोमा यसको लेप लगाउनुस । यसबाट तुरुन्तै टाउकोको दुखाई भाग्छ । जाडोमा छालाको साथसाथै ओठ फुट्नु सामान्य कुरा हो । फुटेको ओंठमा कोकमको तेल लगाउँदा फाइदा हुन्छ । यसले ओठको त्वचा नरम र मुलायम पनि हुन्छ । त्यस्तै चिसो मौसममा कुरकुच्चा फुट्ने समस्या भएमा प्याजको पेस्ट वा ग्रीस लगाउँदा आराम हुन्छ ।
जाडोमा प्राय छातिमा कफ जम्मा हुन्छ र यसले निकै दुख दिन्छ । यसको समाधानका लागि बेसार–पानी पिउनुस । यसबाट कफ बाहिर निस्किन्छ र खोकीमा राहत मिल्छ । धेरै रुँघा लाग्यो भने ज्वरो पनि आउन सक्छ । यसबाट बच्नका लागि दैनिक तीन पटक आलसको चुर्ण प्रयोग गर्दा फाइदा मिल्छ । रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदीनाको पत्ताको चिया बनाएर नून वा सख्खर मिलाएर पिउँदा फाइदा गर्छ । चिसो मौसममा अक्सर जोर्नीको दुखाईले सताउँछ । यसबाट छुटकारा पाउनका लागि धतुरोको पत्तामा तेल लगाएर तातो बनाउनुस र दुखेको स्थानमा बाँध्नुस । यसबाट दुखाईमा राहत मिल्छ । स्वास्थ्य नै धन भएकाले आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं । वालवच्चा, सुत्केरी, गर्भवती, बुढाबुढी र दिर्घ रोगीहरुलाई विशेष ध्यान दिऔं ।