हर्ष र सद्भावको पर्व होली, आज र भोली–नवराज बजगाई


बनेपा, हर्ष र सद्भावको पर्व होली पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोली बिशेष रुपमा मनाईदै छ । काठमाडौँको वसन्तपुरमा चिर (फागुन शुक्ल अष्टमीका दिन बाँसको लिंगोलाई विशेष ध्वाजाहरु सहित) गाडिए पछि शुरु भइ पुर्णिमाका दिन सम्म पहाडमा र त्यसको भोलिपल्ट तराईमा यो पर्व मनाउने गरिन्छ ।

रंगीन पर्व र साँस्कृतिक महत्व बोकेको होलीलाई विशेष गरी हर्ष र सद्भावका रुपमा मनाइने गरिन्छ । प्रकृतिले रुप बदल्ने याम अर्थात वसन्त ऋतुको आगमनसँगै पर्ने यो पर्व नेपाल भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा विशेष गरि मनाउने गरिएको छ । आज यो पर्व विकृतिको रुपमा समेत विकसित भएको पाइन्छ । होली भन्दा केहिदिन अघि देखि नै लोला हान्ने फोहोर पानी छ्याप्ने लगायत गरेर यो पर्वलाई विकृतिको रुपमा लैजानेहरु एकातिर छन् भने अर्कातिर सद्भाव र उमंगका साथ मनाउनेहरु पनि छन् । अझै पहाडी भेगका गाउँघरतिर भने भगवानको मन्दिरमा गएर पूजा अर्चना र नाचगान गरी पर्व मनाउनेहरु पनि छन् ।
दैत्यराज हिरण्य काष्यपले आफ्नो छोरा प्रल्हादलाई विष्णुको भक्त भएको भनी बहिनी होलिकालाई आगोमा जलाई छोरालाई मार्न भनी लगाएको बहिनी होलीका पनि दाजुको आज्ञा बमोजिम प्रल्हादलाई मार्न भनी प्रल्हादलाई काखमा च्यापी ठूलो भुंग्रो भएको आगोमा हाम फालेकी थिइन् तर अग्नीको बरदान पाएर आगोले नजल्ने भएकी होलीका विष्णुभक्त प्रल्हादका अगाडि उल्टै आगोमा जलेर मरिन तर प्रल्हादलाई केही भएन ।
अर्कातर्फ द्धापर युगमा भगवान कृष्णलाई मार्न भनी उनकै मामा कसले पुतना नामकी राक्षसनीलाई कृष्णकहाँ पठाई उनको विषालु दुध खुवाई कृष्णलाई मार्ने षड्यन्त्र गरेर पठाए अनुरुप पुतनाले कृष्णलाई दुध चुसाएकी थिइन् । तर, बिडम्बना दुध चुस्दा श्रीकृष्णले पूतनाको दुधको मुन्टी टोकी मारिदिएका थिए । यसरी मारिएकी पूतना नामकी राक्षसनीको शवलाई यसै दिन अर्थात फागुपूर्णिमाकै दिन बज्रबासीहरुले जलाएको कारण खुशियाली स्वरुप प्रत्येक वर्ष फागुपूर्णिमाका दिन होली पर्व मनाउने गरेको पाइन्छ ।

नेपालमा विशेषगरी काभ्रेको देउपुर, दाङको घोराही, र तुल्सीपुर, बाँकेको नेपालगन्ज, धनगडी, चितवनको टाँडी, पर्सा, जनकपुर, इनरुवा लगायचतका ठाउँमा यो पर्व महत्वका साथ मनाउने गरिन्छ । काभ्रेको देउपुर गैह्रविसौनाको ब्रह्मायणी मन्दिरमा तीनदिनसम्म होली मनाउने गरिन्छ । यस मन्दिरमा रहेका ब्रह्माणी देवीको मूर्तिलाई रथमा राखेर रथयात्राका साथ पूर्णमाको अघिल्लो दिन राती मन्दिरबाट देउपुरको गैरीविसौना बजार लगिन्छ भने पूर्णिमाको दिन राती देवीस्थानमा लगेर राखिन्छ र त्यहाँ पूर्णिमाको भोलिपल्ट पूजाआजा पछि बेलुका पुन ः मन्दिरमै लगेर राखिने गरिन्छ । त्यसै दिन राँगा, बोका, कुखुराको समेत बली दिने र भोज गर्ने नाचगान गर्ने र बाजागाजा गरी रंगरोगन सहित होली मनाउने गरिन्छ ।

सौहार्दपूर्ण वातावरणमा एक आपसको समझदारीमा रंग दलेर सद्भावका साथ मनाइनुपर्ने यो पर्व आजकाल केहि विकृतिको रुपमा विकसित हुँदै गएको पाईन्छ । अनुमति विना नै विभिन्न रंगको प्रयोग गरेर मान्छेमा एउटा विकृतिको उपज बनेको छ । तराईमा गाँजा, भाङ खाएर उच्छृङ्खल भएर लोला हान्ने र विभिन्न रंग दलेर होली खेल्ने गरिन्छ । पहाडी क्षेत्रमा पूर्णिमाका दिन यो पर्व सकिन्छ भने तराईमा त्यसको भोलिपल्ट मात्र सकिने छ । पर्वलाई विकृतिको रुपमा होइन, निरन्तरताको रुपमा मनाऔँ । सौहार्दपूर्ण वातावरणमा समन्वयात्मक रुपमा खुशियाली बाँडेर मनाउने पर्व नै होली हो । यसलाई उत्सवको रुपमा परम्परालाई उच्चता दिने गरी मनाउ, ताकि पर्वका नाममा विकृतिहरु देखा नपरुन् । अरुलाई होइन आफूबाट सभ्य र सुसंस्कृत समाज निर्माणको परिचय दिऔँ, ह्याप्पी होली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *