प्रकाशकीय-क श्रेणीको शाख जोगाई राख्ने छौं

आजबाट तपाई कै सामुदायिक पत्रिका नव क्षितिज साप्ताहिक २२ वर्ष पार भएर २३ वर्षे यात्रामा लागेको छ । यो अवधिमा तपाइको अमूल्य साथ र अथाह स्नेहले गर्दा नै हामी विघ्नबाधा अनि आरोह अवरोह छिचोल्दै यो सफल यात्रामा पुगेका हौं । आम पाठकका जीवन आयामहरुले समाचारको रुप ग्रहण गर्दै गर्दा शुरुमै खुशीको खवर सुनाउन चाहान्छौ–बिहिबार प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को पत्रपत्रिका बर्गिकरणमा हामी ‘क’ बर्गमा पर्न सफल भएका छौ ।
यो हाम्रो निरन्तरको सफलता हो, यो साल जस्तै हामी विगतमा पनि निरन्तर ‘क’ बर्गमा रहेका थियौ । जसको श्रेय तपाई नै हो । यो अवधिमा तपाईं पाठक, विज्ञापनदाता, सहयोगी संघसंस्था, व्यक्ति एवं शुभचिन्तकको अतुलनीय सहयोग, सद्भाव, माया अनि सल्लाह, सुझाव र मार्गदर्शन पाईरह्यौ । जसलाई स्विकार्दै यो नौलो आयाममा तपाइकै समुदाय, घर आँगनमा रम्न चाह्यौं र अझै चाहन्छौ । वर्ष प्रवेशले हामीलाई थप उत्तरदायि, चुनौती र युग सुहाउँदो परिवर्तन आत्मसाथको लागि उत्प्रेरित गरिरहेको छ । यसर्थ, हामी खुसी छौ । हामीले पत्रिकाकै अनलाइन संस्करण पनि प्रकाशन गरिरहेका छौं । सँगै नव क्षितिज साप्ताहिक प्रकाशक संस्था काभ्रे नव क्षितिज प्रकाशन प्रा.लि. ले छुट्टै राम्रो सन्देश डटकम डिजिटल पत्रिका (अनलाइन) पनि प्रकाशन गरिरहेको यहाँहरुमा विदितै छ ।
पक्कै हो यिनै सहृदयताले नव क्षितिज आज लाखौं पाठक माझ स्थापित छ र प्रेस काउन्सिल नेपालको बर्गीकरणमा निरन्तर क बर्गमा बर्गिकृत छ । काभ्रेली आँगनको यही परिवेशलाई कर्मथलो बनाएर सृजनाको फूलबारी मान्दै कला, वाङ्मय–साहित्यको उर्वर भूमिमा चेतनाको पुञ्ज फैलाउँदै काभ्रे र यस भेगका धार्मिक, साँस्कृतिक, र ऐतिहासिक स्थल, सम्भावना बोकेका पर्यटकीय क्षेत्र र ओझेलिएका सम्पदा र महत्वका विषयहरु, अल्पसंख्यक, विपन्न, लोपोन्मुख जातिजातिका उत्थान विकास र प्रबद्र्धनका खातिर कलम चलाउन सदैव तयार रह्यौं, रहनेछौं । सत्य, तथ्य, निष्पक्ष र वास्तविक समाचार प्रवाह एवं स्थानीयस्तरका कला, भाषा, भेष, नव प्रतिभालाई स्थान दिँदै हरेक सोमबार भालेको डाँकसँगै चियाको सुर्कीमा समाचार प्रदान गर्दै आएको नवक्षितिज साप्ताहिक नेपालीका लागि सूचना र सन्देशको अभिलेख मात्र नभई, देशभित्र र बाहिर घट्ने घटनालाई उतार्ने एउटा दरिलो र स्तरीय सञ्चार माध्यम पनि हो । समाजमा भए गरेका विकास निर्माणका साथै वास्तविक घटनाक्रमलाई यथार्थमा उतार्दै समाजलाई सुसन्देश दिने हाम्रो कार्यलाई निरन्तर जारी राख्दै यथार्थपरक समाचार सम्प्रेषण गर्न सदैव तयार छौं । हामी गरीबका छाप्रामा हात्ती हुलेर तमासा हेर्नेहरुका विरोधी हौं । भ्रष्टाचार र अनियमितताका बिरुद्ध खबरदारी गर्दै आवाजविहिनहरुको आवाज र पीडितहरुको सहारा बन्ने हाम्रो क्रम जारी रहनेछ । हामी कुनै पनि दलगत स्वार्थलाई अंगालेर पत्रकारीता गर्दैनौं, ताकि स्वच्छ पत्रकारीता नै हाम्रो धर्म र कर्तव्य पनि हो । जनसरोकार र जनआकांक्षा अनुरुपका पठनयोग्य र लाभदायिक सामाग्री प्रकाशन गर्ने र सम्बन्धित पक्षको आनाकानी र ढिलासुस्तीमा कलम मार्फत् खबरदारी गर्दै जनताको पक्षमा खुलेर लाग्न हामी सदैव तपाईहरुको साथ र पेरीफेरीमा नै रहनेछौं ।
हामी पत्रकारीताको नाममा ब्ल्याकमेलिङ्ग र कालोधन्दा गर्ने छैनौं, गरेका पनि छैनौं जसको ज्वलन्त हामी कमजोर भएको तपाईले मनन गर्नुभएको छ, हामी मैनबत्ति भएर जल्न तयार छौं ताकि हामी आफ्नो प्रकाश निरन्तर अरुका लागि छर्नेछौं, चाहना मजबुद भएपछि बहाना कमजोर हुँदो रहेछ । हाम्रो उद्देश्य मजबुद छ तर मजबुतीमा छौं र पनि हामी खुसी छौं । जसका लागि तपाईको साथ, सद्भाव र मायाले हामीलाई ढाढस दिइरहेको छ । नयाँ वर्षमा प्रवेश गर्नु भनेको थप प्रतिबद्धता व्यक्त गर्नु हो । परिस्कृतताको नयाँ आयाम पस्कन सक्नु हो । यही, सत्य, तथ्यताको आँगनीलाई सजाउनु हो । यसमा हामीलाई हाम्रा आम पाठकवृन्दको सल्लाह सुझावले दिशानिर्देश गर्नेछ ।
नव वर्ष २०८० को पावन अवसरमा तपाई सम्पूर्णमा नव क्षितिज साप्ताहिकको २३ वर्षको पहिलो अंक पस्कँदै तपाईको सारमय जीवनको कामना गर्छाैं र हार्दिक शुभकामना व्यक्त गर्दछौं । र सदैव तपाईको सकारात्मक र रचनात्मक अनि स्वस्थ आलोचना र सहयोग सुझावको अपेक्षासहित आशा गर्छौं सदा झैं न्यानो माया र साथ पाइरहने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *