दोलालघाट, विपदबाट बच्न र बचाउनका लागि दोलालघाटको सुनकोसी नदीमा कृतिम उद्धार अभ्यास मनसुन ३ आयोजना गरिएको छ । नेपाली सेनाको कालीजंग गणको अगुवाइ, जिल्ला समन्वय समिति काभ्रेको समन्वय र जिल्ला विपद् व्यवस्थापन काभ्रेको निर्देशनमा दोलालघाटको सुनकोशी नदिमा अभ्यास मनसुन–३ आयोजना गरिएको हो ।
नेपालमा मनसुन भित्रन लागेको र त्यसले विपद निम्ताउन सक्ने भन्दै पुर्व तयारी स्वरूप कृतिम घटना अभ्यास गरिएको नेपाली सेना कालीजंग गण धुलिखेलका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । विपद् व्यवस्थापन तालिम प्राप्त उद्दार टोलीले पहिरो, बाढी र डुङ्गा मार्फत सुनकोसी नदीमा डुबेका व्यक्तिहरुको खोजी पछि जिवितै उद्दार गरेका थिए । घाइतेहरुलाई नदीबाट उद्दार गरि बाहिर निकालिसकेपछी के कसरी व्यवस्थापन गरिन्छ भनेर कृतिम उद्दार अभ्यासमा देखाइएको थियो । विपद्का बेला आईपर्ने समस्या, उद्धार, पा्रथमिक उपचार, रेफरका विषयमा समेत अभ्यास गरिएको थियो । उद्धार अभ्यासमा नदीमा मान्छे बगेकाहरूको खोज तथा उद्वार, प्राथमिक उपचार, सुचना दिने काम देखाइएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले विपद्को अभ्यासले नागरिकहरुलाई बचाउने अभियानमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । विपद् व्यवस्थापन जिल्ला समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मनसुन महिनामा जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको न्यूनीकरण तथा पूर्व तयारीका लागि जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुको संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको बताउनुभयो ।
कृतिम अभ्यास अवलोकनमा नेपाली सेना उपत्यका पृतनाका पृतनापति सागरबहादुर थापालगायत जिल्ला स्थित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु, स्वास्थ्यकर्मी, रेडक्रस, उद्योग वाणिज्य संघ, भूतपूर्व सैनिक संघ, प्रहरी संघ तथा एनसिसि तालिम प्राप्त विद्यार्थीहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।