बनेपा, “आशा जगाऔँ, जीवन बचाऔँ” भन्ने नाराका साथ हिजो विश्व आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।
दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ । मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाले सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो । कोभिड–१९ को समयमा आत्महत्या गर्नेको सङ्ख्या बढेको थियो । त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा बिज्ञहरूको जोड छ ।
मनोरोग चिकित्सक डा. वासुदेव कार्की अनुसार नेपालमा हरेक दिन करिब २० जनाले आत्महत्या गर्ने गर्दछन् । आर्थिक वर्ष २०७९÷८० मा देशभरबाट छ हजार ९९३ जनाले आत्महत्या गरेका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष भन्दा २.३९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८÷७९ मा छ हजार ८३० जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्ने मध्ये ५६ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला रहेका छन् । त्यसैगरी बालबालिकाले पनि आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा ८ प्रतिशत बालिका र ४ प्रतिशत बालकले आत्महत्या गरेका छन् ।
प्रत्येक आत्महत्याले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर परेको हुन्छ । प्रत्येक आत्महत्याको पछाडि २० वा २५ वटा असफल प्रयास गर्ने अध्ययनले देखाएको छ । आत्महत्या गर्ने व्यक्तिमध्ये ९५ प्रतिशतलाई कुनै न कुनै मानसिक रोग भन्ने तथ्याङ्कले पुष्टि भएको छ । बाँकी ५ प्रतिशतले भने एक्कासि तनावपूर्ण अवस्थामा आएर पनि आत्महत्याको प्रयास हुने गर्दछन् । मानसिक समस्याबारे खुलेर संवाद गरेमा, परामर्शमा रहन सकेमा आत्महत्या रोक्न सकिने डा. कार्कीको बुझाई छ ।
बालबालिकाले सुरक्षित महसुस गर्ने र आफ्नो समस्यासँग व्यक्त गर्नसक्ने वातावरण बनाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालयको विकास गर्न आवश्यक रहेको र घरपरिवार तथा कार्यलयस्थलमा एकअर्को बिच आफ्ना कुरा निर्धक्कका साथ व्यक्त गर्ने र समस्या समाधान गर्ने वातावरण गर्ने वातावरण हुनु जरुरी रहेको बिज्ञहरुको सुझाब छ । साथै आत्महत्याको विचार मनमा आउनु मानसिक स्वास्थ्य समस्याको प्रमुख लक्षण भएकाले यस्तो विचार आएमा नजिकको स्वास्थ्य संस्था वा मनोपरामर्शका लागि २४ घण्टा उपलब्ध राष्ट्रिय हेल्पलाइन ११६६ मा निःशुल्क फोन गरी विज्ञबाट सेवा लिन चिकित्सकहरुले सुझाव दिएका छन ।