
बनेपा,सरकारले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय लिएर आउने र विद्यालयमा रहेर पनि समस्यामा रहेका विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले सुरु गरेको विद्यार्थी अभियान प्रभावकारी बन्दै गएको छ । जुन अभियानलाई सबै क्षेत्रले साथ दिँदै सहयोग पु¥याइरहेको छ ।
अघिल्लो हप्ता नै एक विद्यार्थीलाई सहयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयमा एक विद्यार्थी एक अभिभावकको नीति अघि सारेसँगै यो अभियानले सार्थकता पाउँदै गएको हो । अहिले देशैभर मन्त्रीदेखि वडाध्यक्षसम्मले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने क्रम बढिरहेको छ । विशेष गरी मन्त्रीहरु सत्ता पक्षका सांसदहरु स्थानीय तहका जनप्रतिनिधिहरु लगायत विपक्षी नेताहरु समेतका साथै सामाजिक व्यक्तिहरुले समेत यो अभियानलाई साथ दिइरहेका छन् । यो अभियान सुरुवातकै क्रममा लगभग हजार माथि विद्यार्थीहरुले अभिभावक पाइसकेका छन् ।
काभ्रेमा पनि अभियानले सार्थकता पाउँदै गएको छ । सञ्चार तथा सुचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले आफ्नो गृह जिल्ला तथा निर्वाचन क्षेत्रमा पर्र्ने पाँचखाल नगरपालिका–१२ मा रहेको आजाद माध्यामिक विद्यालयमा विद्यार्थीको अभिभावक बन्दै जिल्लाको बिद्यार्थी भर्ना अभियानको शुभाारम्भ गरेका छन् । नेपालमा सिमान्तकृत समुदायमा पर्ने दनुवार परिवारका गरिब विद्यार्थीको उनी अभिभावक बनेका हुन् । राज्यमन्त्री बास्कोटाले सिमान्तकृत विद्यार्थी रिजन दनुवारलाई कक्षा १ मा भर्ना गदै अभिभावक बनेका हुन् । उनले रिजनलाई माध्यामिक शिक्षासम्म पढाउने गरि विद्यालयका प्रधानाध्यापक प्रल्हाद तिमल्सिना र रिजनको आमा माया दनुवारलाई पढाईका लागि आवश्यक पर्ने सबै शैक्षिक सामाग्री समेत हस्तान्तरण गरेका छन् ।
रिजनलाई वर्षभरी आवश्यक पर्ने विद्यालयको पोशाक, जुत्ता, मोजा, ब्याग, जाडो यामका लागि सुईटर, स्टेशनरी, कापी, पेन्सिल, इलेजर, स्कुलको पोशाक बाहेक घरमा बस्दा लगाउने कपडा, विद्यालय अंगे्रजी माध्यममा भएकाले नीजि पब्लिकेशन हाउसका केहि किताव किन्न आवश्यक रकम, टिफिन बक्स, पानीको बोतल, बर्षादी, छाता लगायतका सामाग्री हस्तान्तरण गरेका हुन् । सँगै राज्यमन्त्री बास्कोटाले नागरिकद्वारा नागरिकको उत्तरदायित्व बहन गर्नु पर्ने बताउँदै सक्नेले नसक्नेलाई सहयोग गर्न अपिल गरे ।
त्यसैगरी प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईंले बनेपामा रहेको आजाद माध्यमिक विद्यालय बनेपामा अध्ययनरत एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । उनले सिन्धुपाल्चोक, चौतारा घर भएका राजीव परियारलाई कक्षा ६ मा भर्ना गराएर अभिभावकत्व लिएका हुन् । आर्थिक अवस्था कमजोर हुनुका कारण पढाइलाई निरन्तरता दिन नसकेका परियारलाई कक्षा १२ सम्म पढाउने गरी अभिभावकत्व ग्रहण गरेको हुमागाईंले बताए । उनले परियारलाई सुरुमा आवश्यक स्टेशनरी, पोशाक, जुत्ता, ब्याग, टिफिन लगायतका सामग्रीको व्यवस्था गरिदिएका छन् । यो सँगै प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले पनि अभिभावकत्व लिने घोषणा गरेका छन् ।
यही क्रममा पाँचखाल नगर प्रमुख महेश खरेल पाँचखाल नगरपालिका–१२ मा रहेको आजाद माध्यामिक विद्यालयमा गुञ्जन दनुवारको अभिभावक बने । त्यसैगरी शिक्षा समन्वय इकाई प्रमुख डा. दिपेन्द्र गुरुङ्ग सविना दनुवारको अभिभावक बनेका छन् । गुरुङ्गले जिल्लामा अन्य दुई जना बालबालिकाहरुको अभिभावक बन्ने घोषणा पनि गरेका छन् । त्यस्तै पाँचखालका नारायण अधिकारी सन्तोष श्रेष्ठको अभिभावक बनेका छन् । संचारकर्मी दिपक समिर पनि सरला ठकुरीको अभिभावक बने । मदन लुईटेल पूर्णिमा मानन्धरको अभिभावक बनेका छन् ।
नमोबुद्ध नपाका प्रमुख टि.पि. शर्मा तिमल्सिनाले कक्षा १ मा अध्ययनरत वर्ष ७ कि विद्यार्थी सविता तामाङको अभिभावकत्व ग्रहण गरेका छन् । उनले तामाङको उच्च शिक्षाको ढोका माथिल्लो तहसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै नमोबुद्ध १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले कक्षा ६ मा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । केही दिन अघिदेखि नै शिक्षा मन्त्री गिरीराजमणि पोख्रेल यो अभियानलाई सफल पार्न लागिरहेका छन् । उनले यो वर्ष सबैले सहयोग गर्न आग्रह गर्दै पछिल्ला वर्षमा जिम्मेवारी लिएकाले विद्यार्थीको अभिभावकत्व पूरा गर्न नसकेमा सरकारले जिम्मा लिने बताउँदै यो अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन् । अभियान अझै जारी रहेकोले यो संख्या धेरै बढ्न सक्ने देखिन्छ ।