मेलम्चीको घाउमा नमोबुद्ध, मण्डनदेउपुर र पनौतीको मल्हम

बनेपा, बाढीका कारण अस्तव्यस्त बनेको मेलम्चीका लागि काभ्रेका नमोबुद्ध, मण्डनदेउपुर र पनौती नगरपालिकाले सहयोग गरेका छन ।

बिहीबार बिहानै मेलम्ची पुगेको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल नेतृत्वको टोलीले नगरपालिकालाई सहयोग हस्तान्तरण गरेको छ । नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाका साथै नगरको प्रकोप व्यवस्थापन विशेष कोषबाट ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर वहादुर अर्याललाई हस्तान्तरण गरे । यससँगै उनले नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले पठाएको लिखित सन्देशसमेत मेलम्ची नगर प्रमुख अर्याललाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले असार ४ गते मेलम्ची नगरपालिका पुगि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र उप–प्रमुख भगवती नेपाललाई नगरपालिकाको विपद कोषमा रहने गरि मन्डनदेउपुर नगरपालिकाको तर्फबाट रु ३ लाख ५१ हजारको चेक हस्तान्तरण गरेका थिए । बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका बाँकी दुई वटा गाउँपालिकालाई पनि ३÷३ लाख हस्तान्तरण गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

त्यस्तै पनौती नगरपालिकाले पनि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको नगरकार्यपालिका बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख भिम न्यौपानेले जानकारी दिए । पनौती नगरपालिकाले मेलम्ची नगरपालिकालाई दश लाख राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।

क्षतिको विवरण सार्वजनिक
असार १ गतेदेखि सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट २३ जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिकाले शनिबार बाढीबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै सो गाउँपालिकाबाट ४ महिला र १९ पुरुष बेपत्ता भएको जनाएको छ ।
गत असार १ गतेदेखि सो गाउँपालिकाको वडा नं. १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोको कारण आएको बाढीले ठूलो धन जनको क्षति पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी विष्णुहरी तिमिल्सिनाले जनाएका छन् । प्रमुख प्रशासकीय अधिकारी तिमिल्सिनाले सार्वजनिक गरेको विवरण अनुसार बाढीले बेपत्ता हुनेहरुमा हल्दे भन्ने स्थानका बर्ष ३५का सुनिल तामाङ, बर्ष ३५ का पूर्ण तामाङ, बर्ष ५० का कामी तामाङ, उनकी ८० बर्षकी आमा नोकी तामाङ रहेका छन् । ज्ञानेन्द्र कक्षपतिको ट्राउट फर्ममा काम गर्ने अन्दाजी बर्ष ३५ का नाम नखुलेको एक महिला र उनका २ बर्षका एक छोरा पनि बेपत्ता भएका छन् ।
बेपत्ता हुने अन्यमा भण्डारी ट्राउट फर्म किउलका बर्ष ३१ का माधव भण्डारी, चुरेटार १ का ४२ बर्षका गणेश ज्योति, भण्डारी ट्राउट फर्ममा काम गर्ने बर्ष २३ का सुरेन्द्र नेपाल र पाल्चोक सेराक बर्ष ६६ बर्षकी दिकुमारी खड्का रहेकी छिन् ।
यसैगरी जय बागेश्वरी ट्राउट फर्ममा काम गर्ने बर्ष ५० का च्याङ्बा तामाङ, उनकी ४५ बर्षकी श्रीमती काली तामाङ्लाई बाढीले बेपत्ता पारेको छ ।
यस्तै चालिसे फाँट हल्देका ४६ बर्षका भिम प्रसाद भण्डारी र ९० बर्षका तस्वीर तामाङ पनि रहेका छन् । हेलम्बु चनौटेका ५५ बर्षका ज्ञानेन्द्र कक्षपति बेपत्ता भएका छन् ।मेलम्ची खानेपानी बाँधस्थल अम्बाथानका काम गर्ने चाइनिज ३ जना, भारतिय ३ जना र नेपाली २ जना गरी ८ जनालाई बाढीले बेपत्ता पारेको छ । भने १५ जनाको क्षती भएको छ ।
त्यस्तै भौतिक क्षति तर्फ ः हेलम्बु गाउँपालिका वडा नं. १ को तिम्बुमा रहेको मेलम्ची खोला पुल बाढीले बगाएको छ भने दङतोम्बा मोटरेबल पुल बगाएको छ । चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ भने वडा नं. २ चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा रहेको छ । यस्तै वडा नं. १ को सर्काथली झोलुङ्गे पुल बाढीले बगाएको छ भने च्याम्भेदो झोलुङ्गे पुल पनि बगाएको छ । हेलम्बु गाउपालिकाको वडा नं. ४ र वडा नं. ३ जोड्ने ग्याल्थुम तोरिश्वारा झोलुङ्गे पुल र. वडा नं. २ र वडा नं. ७ जोड्ने चनौटे झोलुङ्गे पुल बाढीले बगाएको छ । वडा नं. १ र वडा नं. ६ जोड्ने चालिचे च्युरिखर्क झोलुङ्गे पुल बाढीले बगाएको छ । वडा नं. २ र वडा नं. ६ जोड्ने थापाटार झोलुङ्गे पुल बाढीले बगाएको छ ।
काठमाण्डौ–मेलम्ची न.पा हुँदै हेलम्बु आउने सडकको ढुङ्ग्रे बजार खण्ड करिब ३०० मिटर, चनौटे देखि गणेशेसम्म को करिव ७०० मिटर, भूमेश्वारी तितेखानी खण्ड करिब ५०० मिटर र किउल–तिम्बु– अम्बथाङ ५ कि.मि. सडक पूर्ण रुपमा बाढीले बगाई बगरमा परिणत भएको छ । वडा नं. ७ को इचोक जाने बाटो करिब १ किमि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
बाढीले बगाएर क्षति भएको मुख्य बस्तीहरुमा वडा नं. १ स्थित च्युरिखर्क, तिम्बु, हल्दे, अम्बाथानमा गरी करिब २८ घर टहरा भित्रका चौपाया तथा खाद्यान्न सहित बगाएको छ । वडा नं. २ पुरानो चनौटे बजार– मुक्तीटार – गणेशेबगर–किउल सम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले ११३ परिवार विस्थापित भएका छन् । वडा नं. २, किउलमा रहेको नवनिर्मित ईलाका प्रहरी कार्यलय, हेलम्बु बाढीले बगाएको छ भने वडा नं. ३ स्थित भण्डारी सिममा रहेको ३ घर बगाएको छ । वडा नं. ७ मा रहेको चनौटे मुख्य बजार भित्र रहेका करिव २५ व्यापरिक पसल बाढीले बगाएको र अधिकांश घरहरु पूर्ण रुपमा क्षति भएको छ । संगै ८ रेन्बो ट्राउट फर्म पूर्ण रुपमा क्षति भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको यो क्षतिको आंशिक विवरण हो । बिस्तृत विविरण तयार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *