निर्वाचनको तिव्र तयारीमा आयोग, स्वत्रन्त्रका तीनवटा चुनाव चिन्ह हेरफेर

बनेपा, निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिन्ह मध्ये तीन वटामा हेरफेर गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा निर्वाचन चि चिन्हमा सामान्य हेरफेर गरिएको जनाएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको हो । निर्वाचन आयोगको अभिलेख र निर्देशिकामा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएकोेले उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।

उक्त निर्णयबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को अनुसूची २९ को क्रम संख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह लौरो र अनुसूची– ३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिन्हअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा हेरफेर गरिएको छ । हेरफेर गरिएका निर्वाचन चिन्हसहितको विवरण आयोगको वेभ साइटमा राखिएकोे आयोगका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै निर्वाचन आयोगले मतपत्रसहित आवश्यक सामग्री जिल्ला सदरमुकाममा पठाउन थालेको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रसहित आवश्यक सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयले र निर्वाचन अधिकृतको कार्यालयमा पठाउन शुरू गरेको हो । निर्वाचनका लागि समानुपातिक तर्फ ४ करोड ५५ लाख मतपत्र छापिएका छन् ।

७७ जिल्लामा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृत कार्यालयले निर्वाचन कार्यक्रमदेखि लिएर स्थलगत व्यवस्थापनको तयारी गरिरहेको छ । आयोगका अनुसार असोज ३१ गतेभित्र ३५ जिल्लामा मतपत्र ढुवानी गरिसक्नेछ । कात्तिक पहिलो साताभित्र समानुपातिकतर्फको मतपत्र सबै जिल्लामा पुगिसक्ने पनि आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेसँगै उम्मेदवारको चिन्ह समावेश गरी आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *