को को हुन् टिकटमा बाजी मार्नेहरु ?

neta

आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे जिल्लामा प्रायः सबै दलले उम्मेदवार सिफारिस कार्य सकाएका छन् ।
मंसिर १० र २१ गरी दुई चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । जसको लागि दुवै निर्वाचनको समानुपातिक उम्मेदवारको सूची असोज २९ गते निर्वाचन आयोगमा बुझाउनु पर्ने छ । त्यसैगरी प्रत्यक्ष तर्फ मंसिर १० गते हुने निर्वाचनको उम्मेदवारी दर्ता कार्तिक ५ गते र दोस्रो चरण निर्वाचनको उम्मेदवारी दर्ता कार्तिक १६ गते गर्ने गरी निर्वाचन आयोगले तालिका सार्वजनिक गरिसकेको छ । यो सँगै दलहरु उम्मेदवार चयनमा सक्रिय बनेका हुन् । सबै दलले गाउँ क्षेत्रबाट आएको सिफारिसलाई जिल्ला कमिटी बैठकले अनुमोदन र सिफारिस गर्ने गरी केन्द्रले सर्कुलर पठाए अनुरुप नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नयाँ शक्ति लगायतका दलले उम्मेदवार सिफारिस गरेका हुन् ।
कुन क्षेत्र कसलाई ?
केही समय अगाडि बामपन्थी एकता भएसँगै नेकपा एमाले र माओवादी केन्द्रले कुन जिल्लामा कुन कुन केन्द्र र प्रदेशमा उम्मेदवारी दिन पाउने टुंगो मोटामोटी नेताहरुले लगाएको भएपनि यकिन नहँुदा उम्मेदवारी प्रक्रिया नै अन्यौलमा देखिएको छ ।
कुन दलले कुन क्षेत्र पाउने टुंगो नलाग्दा यो अवस्था आएको हो । केन्द्रमा कार्यदल बनेर लगभग क्षेत्रबारे सहमति बनेको भएपनि जिल्लामा कसले कहाँ पाउने भन्दै अन्यौल देखिएको छ । तर दुवै दलको लगभग सहमति भइसकेको र त्यही अनुरुप नै उम्मेदवारहरु छनौट गरिरहेको दुवै दलका नेताहरुले स्वीकारेका छन् । जस अनुसार काभ्रेको केन्द्र १ मा माओवादी केन्द्रले टिकट पाउने छ भने केन्द्र २ मा एमालेले पाउने छ । त्यही अनुसारको उम्मेदवारी पनि टुंगिएको छ । १ मा माओवादी केन्द्रबाट लालध्वज लगभग पक्का बनेका छन् भने २ मा एमालेका गोकुल बाँस्कोटा निर्विरोध उम्मेदवार चयन भइसकेका छन् ।
त्यसैगरी प्रदेश तर्फ माओवादी केन्द्रले प्रदेश ३ पाउने पक्का जस्तै बनेको छ । माओवादी केन्द्र उम्मेदवार छनौटमा पनि अन्य क्षेत्रभन्दा केन्द्र १ र प्रदेश ३ मै बढी केन्द्रीत बनेको छ ।

एमालेबाट को–को ?

बामपन्थी एकतासँगै हुन लागेको आगामी निर्वाचनका लागि एमाले काभ्रेले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सूची केन्द्रमा पठाएको छ । नेकपा एमाले काभ्रेको शनिबार बसेको बैठकले क्षेत्रिय कमिटीबाट आएका नामहरुलाई अनुमोदन तथा माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको हो । क्षेत्रिय कमिटीहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिकमा पठाएका नामहरुलाई माथि पठाउने र सर्वसम्मत आएका नामहरुलाई अनुमोदन गर्ने निर्णय जिल्ला कमिटी बैठकले गरेको हो । जस अनुरुप क्षेत्र नं. १ र २ बाट जोडेर बनेको प्रतिनिधि सभा १ का लागि सांसद रामहरि सुवेदी, जिल्ला सचिव नारायण पाण्डे, क्षेत्रिय अध्यक्ष संग्रामजित लामा तथा जिल्ला सदस्य पवित्रा भुर्तेलको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ । बैठकले ति नामहरुलाई केन्द्रमा पठाउने निर्णय गरेको हो । अन्तिम निर्णय भने केन्द्रले गर्नेछ ।
त्यस्तै क्षेत्र नं. १ मा प्रदेश सभाका लागि जिल्ला कमिटीका उपसचिव इन्द्र तामाङ, सचिवालय सदस्य राजन भुर्तेल, जिल्ला कमिटी सदस्य मुकुन्द गौतम, इश्वरी पौड्याल, दिलिप तामाङ, ठाकुर बास्कोटा, विद्यार्थी नेतृ सम्झना गौतम, विद्यार्थी नेताहरु हरिकुमार मैनाली, नेता दिपक गौतम, अनेरास्ववियु केन्द्रीय अध्यक्ष नविना लामा, एमाले जिल्ला कमिटी सदस्य घनश्याम लामाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सूचीमा रहेका विद्यार्थी नेता जेनिश लामाले भने अग्रजप्रति हार्दिकता देखाउँदै उम्मेदवारी फिर्ता लिएका थिए ।
त्यस्तै क्षेत्र नं. २ बाट युवा संघका केन्द्रीय उपाध्यक्ष चन्द्र लामा, पूर्व क्षेत्रिय अध्यक्ष रामकृष्ण हुँमागाई, युवा संघका सचिवालय सदस्य अमित लामा, जिल्ला कमिटी सचिवालय सदस्य केशव वडाल, युवा संघका पूर्व जिल्ला अध्यक्ष राजन थापा, जिल्ला कमिटी सदस्य कृष्णचन्द्र आचार्य, जिल्ला कमिटी सदस्य विदुर हुँमागाई, कुलचन्द्र अधिकारी, कृष्णप्रसाद खनाल, पुर्ण पाण्डे, विष्णुप्रसाद खनाल, जिल्ला कमिटी सदस्य शेखर लामा रहेका छन् ।
त्यसैगरी प्रतिनिधि सभा काभ्रे निर्वाचन क्षेत्र नं. २ मा भने सर्वसम्मत उम्मेदवार चयन भएको छ । क्षेत्रिय कमिटीबाट सर्वसम्मत रुपमा आएका युवा नेता गोकुल बाँस्कोटाको नामलाई जिल्ला कमिटीले अनुमोदन गरेको हो । निर्विरोध आएको उनको नाम सँगै उनी प्रतिनिधि सभा क्षेत्र नं. २ का लागि एमालेका उम्मेदवार बनेका छन् ।
प्रदेश सभा क्षेत्र नंम्बर ३ का लागि विद्यार्थी नेता लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका मोर्चा विभाग प्रमुख कञ्चन अधिकारी, मण्डन देउपुर नपाका संयोजक विदुरप्रसाद सापकोटा, पूर्व जिल्ला कमिटी सदस्य जर्नादन अधिकारी र जिल्ला कमिटी सदस्य टिकाबल्लभ सापकोटालाई प्रदेश सभा प्रत्यक्ष तर्फको लागि सिफारिस गरेको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नंम्बर ४ बाट सचिवालय सदस्य हरिदेव गिरी, सचिवालय सदस्य बसुन्धरा हुँमागाई, प्रचार विभाग प्रमुख हरिशरण दाहाल, नाल्दुम गाविसका पूर्व अध्यक्ष राधाकृष्ण बस्ताकोटी, पूर्व जिल्ला कमिटी सदस्य कमल तिमल्सिना, पूर्व जिल्ला कमिटी सचिवालय सदस्य कुमार थापा, महिला नेतृ कमला अधिकारी र अनेमसंघ काभ्रेका अध्यक्ष राममाँया श्रेष्ठलाई सिफारिस गरेको छ ।

जिल्लाले क्षेत्रबाट आएका नामहरुलाई घटाएर बढीमा ३÷४ को नाम पठाउनुपर्ने भएपनि जिल्लाले सबै जिम्मेवारी माथिल्लो तहलाई दिएसँगै टिकट लिनका लागि दौडधुप भने नेताहरुले जारी राखेका छन् । सँगै समानुपातिक तर्फ पनि क्षेत्रबाट आएका समानुपातिक उम्मेदवारका नामलाई माथिल्लो निकायमा सिफारिस गरेको छ । पार्टीका पूर्व सचिव एवं वर्तमान सांसद विदुर सापकोटाको नाममा भने जिल्लाले राय पठाएको छ ।
कांग्रेसबाट धेरै सिफारिस

नेपाली काँग्रेस काभ्रेले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि क्षेत्रबाट आएका उम्मेदवारका नामलाई केन्द्रमा पठाएको छ ।
कांग्रेसले प्रतिनिधी सभाको लागि क्षेत्र नं. १ मा तिर्थ बहादुर लामाको नाम सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै समानुपातिकमा कमला थापा, मिरा नेपाली, ललिता किंरिङ मगर हेमलाल लामा र बाबुराम गिरीको नाम सिफारिस गरेको छ । त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नं. २ का लागि वर्तमान सभापति मधुुप्रसाद आचार्य, सांसद कञ्चनचन्द्र बादे, नेता कुमार लामिछाने, डा. राम थपलिया, शुभलक्ष्मी मानन्धर, कश्यप पौडेलको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा समानुपातिक निर्वाचनतर्फ रामकुमार मुल्मी, जीवना वादे, कृष्णबहादुर दनुवार, ठाकुरप्रसाद न्यौपाने, हेमकुमार तामाङ, तोरण बहादुर क्षेत्री, चन्द्र ढकाल, दिपकप्रसाद पौडेल, एकबहादुर बुढाथोकी,यशोदा कार्की, रत्न प्रसाद लुईटेल र नन्दु दुलालको नाम सिफारिस गरेको हो ।
प्रदेशसभाको लागि १ नंम्बरवाट दिनेश लामा, चन्द्र बहादुर तामाङ (सि.वी.), दिनेश भुर्तेल, नारायण गौतम ,शेर बहादुर लामा रहेका छन् ।
त्यस्तै प्रदेशको क्षेत्र नंम्बर २ मा इन्द्रमणि अधिकारी, इश्वरी ओझा, इन्द्रबहादुर खड्का, कुन्साङ लामा, तीर्थबहादुर पसखल, दिनेश लामा, सञ्जीव लामा, विदुर बञ्जारा,रामशरण भण्डारी राजेशराज महत, नारायण सापकोटा, अर्जुन बञ्जारा, माधव थापा, मधुकर खनाललाई प्रत्यक्ष निर्वाचनमा सिफारिस गरेको छ ।
क्षेत्र नंम्बर ३ मा अच्यूतप्रसाद पौडेल, सुन्दरमणि आचार्य,आनन्द सापकोटा,अर्जुन सापकोटा, गणेश प्रसाद अधिकारी र विदुर ढुंगानाको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नंम्बर ४ मा कृष्ण गोपाल भैल,प्रचण्डराज प्रधान, प्रकाश थापा, महेश पौडेल, माधव प्रसाद ढकाल, नारायणप्रसाद तिमिल्सिना, भगवान अधिकारी,विदुर घिमिरे, इन्द्रबहादुर तामाङ, रामहरी शर्मा,हरिकुमार कर्माचार्य, साधुराम सापकोटा, प्रकाश तिमल्सिना, दिनेश हुमागाई, चन्द्र ढकाल सिफारिस गरेको हो । कांग्रेसले प्रत्यक्षको अनुपातमा अझै समानुपातिमा ठूलो संख्यामा नाम सिफारिस गरेको छ । जिल्लाले बनाएको उम्मेदवारले बुझाउनुपर्ने शुल्कबाटै कांग्रेसले १० लाख ४५ हजार जम्मा गरेको छ । उसले प्रदेशका उम्मेदवार हुन चाहने समानुपातिकलाई ७ हजार, प्रत्यक्षलाई १० हजार र प्रतिनिधि सभाका उम्मेदवारका लागि १५ हजारका दरले रकम तोकेको थियो ।

पुराना उम्मेदवार खारेज
नेपाली कांग्रेस केन्द्रले ढिलो गरी बनाएको टिकट सम्बन्धि मापदण्डले भने काभ्रे कांग्रेसले पठाएका धेरै नाम उम्मेदवारका सूचीबाट खारेज हुने छन् ।
उसले चुनावी उम्मेदवार छनौट मापदण्ड तय गर्दै नेपाली कांग्रेसमा बिगतमा समानुपातिक तर्फबाट सभासद बनेकालाई समानुपातिक मै नदोर्होउने त्यसैगरी स्थानीय तहको निर्वाचनमा कुनै पनि तह (गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष÷सदस्य, मेयर÷उपमेयर र वार्ड अध्यक्षरसदस्य) मा उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको नाम तल्लो तहबाट सिफारिस भएपनि खारेज हुने निर्णय गरेको छ । यो निर्णयको प्रभावले स्थानीय तह मा अघिल्लो पट्क उम्मेदवार भएका धेरै घट्नेछ । सँगै स्थानीय निर्वाचनमा बागी उम्मेदवार बनेका तथा प्रस्तावक र समर्थक समेत उम्मेदवार बन्न नपाउने छन् ।

कसको सम्भावना बढी ?
बाम एकतासँगै झस्किएको नेपाली कांग्रेस यतिबेला अन्य पार्टीहरुसँग एकताको प्रयास गरिरहेको छ । त्यो प्रयास सार्थक भएर विजय गछदार नेतृत्वको पार्टी लगभग कांग्रेससँग मिल्ने सहमति भएको सन्दर्भमा विजय गछदार नजिक मानिएका गणेश लामाका लागि गछदारले काभे्रको केन्द्र १ लिए भने तिर्थ लामाको ठाउँमा गणेश लामाको नाम आउन सक्छ तर त्यो सम्भावना कम देखिन्छ । त्यसो नभए उनी प्रदेश १ वा २ मध्येबाट दाबी गर्छन् या समानुपातिक सुरक्षित गर्ने छन् ।
त्यसैगरी केन्द्र २ मा पार्टी सभापति मधु आचार्य उम्मेदवार बनिरहँदा सांसद कञ्चन बादे प्रदेश ४ मा जाने या समानुपातिकमा बस्ने दोधारमा पर्न सक्छन् ।
त्यसैगरी ४ प्रदेशका लागि दाबी गरेका दर्जन हाराहारीका उम्मेदवार मध्येबाट प्रदेश सभा १ र २ बाटै सिफारिस भएका जिल्ला सचिव दिनेश लामाले प्रदेश १ बाट टिकट पाउने लगभग पक्का छ । यदि १ बाट नभए उनी २ बाट टिकट पाउने छन् ।
त्यस्तै प्रदेश २ बाट तिर्थ पसखल र प्रदेश ३ मा सुन्दरमणि आचार्यको नाम अगाडि छ । प्रदेश नं. ४ मा भने सांसद कञ्चन बादेले उठ्न चाहेनन् भने जिल्ला कोषाध्यक्ष कृष्णगोपाल भैलले टिकट पाउने छन् ।
माओवादी केन्द्रबाट को को ?
बाम एकतासँगै टिकट सिफारिसमा ढिला गरेको माओवादी केन्द्रले पनि स्थानीय र क्षेत्रको सिफारिस अनुरुप नै उम्मेदवार चयन र केन्द्रलाई सिफारिस गर्ने तयारी गरेको छ । उसले सम्भवतः आज नै निर्णय पठाउने छन् ।
निर्णय भइ नसके पनि माओवादी केन्द्रको तयारी अनुसार प्रतिनिधि सभा १ का लागि पार्टी पोलिट ब्यूरो सदस्य एवं पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) र दिनानाथ गौतमको नाम सिफारिस हुनेछ । गौतम रोशी गाउँपालिका अध्यक्ष समेत रहेका कारण माओवादी केन्द्रबाट १ का एक मात्र उम्मेदवार लालध्वज नै हुने पक्का जस्तै छ । सँगै समानुपातिकमा रचना, जेबि आले, चलाख सिङ दोङको नाम छ ।
त्यस्तै प्रतिनिधि सभा २ मा पूर्व सांसद तेजबहादुर मिजारको नाम सिफारिस हुनेछ ।
त्यसैगरी प्रदेशतर्फ १ मा गंगाबहादुर दोङ (बमध्वज), रत्न ढकाल, खड्गबहादुर लामा, सुजन लामा । २ नं. प्रदेशमा इन्द्रबहादुर थिङ, मिमबहादुर वाइबा र दैबलाल घिसिङ । ३ नं. प्रदेशमा दिल सुन्दर श्रेष्ठ, पृथ्वी बहादुर थापा र तुल्सी नारायण श्रेष्ठ । ४ नं. प्रदेशमा रिता ढकाल, आइतसिङ तामाङ, बिनोद गौतम, राजकुमार तामाङको नाम रहेको छ ।

नयाँ शक्तिको पनि सिफारिस
बाम एकता गरेको नयाँ शक्ति पार्टी नेपाल काभ्रेले आगामी संघ र प्रदेशको लागि उम्मेदवार छनौट गरेको छ ।
संघमा प्रत्यक्ष तर्फ शंकर दास लामा र कृष्ण भण्डारी (शिशिर), प्रदेश तर्फ तिलक बहादुर लामा (नविन) रामहरि खनाल (दिपक खड्का), रेशमलाल श्रेष्ठ र इश्वर ढकाल त्यसैगरी समानुपातिकमा भने अकल बहादुर थिङ र इन्द्र बिसुंखेलाई उम्मेदवार छनौट गरिएको छ । यसैगरी प्रदेशमा समानुपातिक तर्फ होमकुमारी वाइबा उत्सव खनाल, इश्वर ढकाल, रुपक तोलांगे, विकास ब्लोन, राजिव लामा, रञ्जु केसी, ज्ञानेन्द्र श्रेष्ठ र पवन कर्णजितलाई छनौट गरेको छ । यि नामलाई उसले केन्द्र र प्रदेश अनुसार सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *