
बनेपा,मुलुक संघीयतामा जाँदै गर्दा भएको स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि बनेको शक्तिशाली सरकारमा काभ्रेले पनि प्रतिनिधित्व पाएको छ ।
सरकारको प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गर्ने संचार तथा सूचना प्रविधि मन्त्रालयको राज्यमन्त्रीमा काभ्रेका युवा नेता गोकुल बाँस्कोटा नियुक्त भएका छन् । राज्यमन्त्री भए पनि उनी क्याविनेट मन्त्री हुन । प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री पछि लोकप्रिय मत प्राप्त गरेका बाँस्कोटा स्थापित सञ्चारकर्मी पनि हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक शुक्रबार विस्तार गरेको मन्त्री परिषद्मा बास्कोटा क्याविनेट सहितको राज्य मन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यलाई १७ हजार ९ सय मतान्तर फरकमा पराजय गर्दै विजयी भएका बाँस्कोटा नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाको सदस्य छन् । काभ्रेपलाञ्चोक जिल्लाबाट महासंघको सदस्यता लिएका बास्कोटाले दृष्टि साप्ताहिक, रेडियो नेपाल लगायतमा काम गरे भने अहिले उनी सम्बोधन साप्ताहिकका सम्पादक तथा प्रकाशक हुन ।
शनिबार विहानै एमाले पार्टी कार्यालय आईपुगेका बाँस्कोटालाई जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ता, स्थानीय सरकारका प्रतिनिधिहरु र सर्वसाधारणले भब्य स्वागत गर्दै बधाई र कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए । सँगै प्रेस चौतारी नेपालका संस्थापक सचिव रहेका बाँस्कोटालाई प्रेस चौतारी काभ्रेले बधाई तथा शुभकामना दिएको छ । जिल्ला अध्यक्ष भुवन रायमाझीले खादा मालाले सम्मान गरेको कार्यक्रममा जिल्लाका सञ्चारकर्मीले बधाई दिएका थिए ।
राजनीतिक यात्रा
जिल्लाको तत्कालिन नयाँगाउँ १ हाल मण्डन नगरपालिका–४ चैनपुरमा २०२७ सालमा जन्मिएका बाँँस्कोटा २०७४ साल चैत्र २ गते सूचना तथा सञ्चार राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनी प्रतिनिधी सभा काभ्रे क्षेत्र नम्बर २ का सांसद हुन् । बुबा हरिप्रसाद र आमा बालकुमारीको कोखबाट ३ दाजु पछिका कान्छो हुन् । २०३६ साल देखि नै वाम पृष्ठभूमीका गुरुहरुको कुरा सुनेपछि उनमा राजनीतिक कौतुहलता बढेको उनीसँग अनुभव छ । उमेर बढदै जाँदा कम्युनिस्ट विचारसँग नजिकिएका उनी बेलुकी–बेलुकी गुरुहरुको प्रशिक्षणपछि वामपन्थी आन्दोलनमा होमिएका थिए । तपेश्वर पढदै गरेका उनी पछि डेडीथुम्का स्कूलमा पढ्न गए पछि कक्षा ५ मा अध्ययन गर्दा अनेरास्ववियुमा आवद्ध भएका थिए । त्यो बेला तत्कालिन मालेको अनेरास्ववियु एकताको ५ औं को उनी प्रारम्भिक कमिटीको सह–सचिव थिए । वामपन्थीहरुको निक्कै राम्रो स्थिति भएका कारण उनका लागि कृष्णकुमार श्रेष्ठ, कुमार खकुरेल, भानुभक्त थपलिया लगायतका गुरुहरु थिए । बेलुकी संगठन गर्ने, किसानहरुकोमा जाने, नाटक देखाउने जस्ता गतिविधिमा बास्कोटा सक्रिय भए । पिस्कर हत्याकाण्डको विरोधमा डेडीथुम्कादेखि जुलुसको नेतृत्व गर्दै उनी पाँचखाल चौकीसम्म गएका बास्कोटा त्यसबेलादेखि नै राजनीतिमा चिनिएर लागेका हुन् । त्यतिबेला पुस्तकालय कमिटी, रेडक्रस, अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी वहन गरेका उनी युथलिगको सचिव भएर अग्रजहरुसँग निरन्तर लाग्दै गए । गाउँमा ४३ सालमा जनपक्षीय उमेद्वारलाई सक्रियतापूर्वक सहभागी भएर सघाएका बास्कोटाले विद्यार्थी राजनीतिमा ०४२÷४३ देखि अखिलको जिल्ला सदस्य, इलाका कमिटीको अध्यक्ष, जिल्ला कमिटीको सचिव, जिल्लाको अध्यक्ष भएर जिम्मेवारी वहन गरेका थिए । अखिलका केन्द्रीय कमिटी सदस्य, वागमतिको उपाध्यक्ष, एमाले काभ्रेको सदस्य, सचिवालय सदस्य, उपसचिव, सचिव र २ पटक अध्यक्षको जिम्मेवारी सम्हालेका उनी अहिले प्रदेश कमिटी र पार्टीको केन्द्रीय स्कूल विभाग सदस्य रहेका छन् ।
डेडीथुम्का स्कूलबाट एसएलसी गरेका उनले मास कम्युनिकेशनमा स्नातकसम्मको अध्ययन रत्नराज्यलक्ष्मी क्याम्पसबाट पूरा गरेका हुन्् । प्रकाश, दृष्टि लगायत वाम निकट पत्रिकाहरुमा रहेर सक्रिय पत्रकारिताको लामो अनुभव संगालेका उनी पछिल्लो समय पत्रकारिताभन्दा पार्टी राजनीतिमा क्रियाशील रहेका छन् । अहिलेसम्म पनि उनी प्रकाशक सम्पादक रहेर सम्बोधन साप्ताहिक प्रकाशनमा छ ।
मन्त्री बनेपछिको पहिलो प्रतिवद्धताः
जिल्लामा वाम गठवन्धन र प्रेस चौतारी काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रम नै उनको मन्त्री बनेपछिको पहिलो कार्यक्रम हो ।
शुक्रबार साँझ सपथ ग्रहण र पदवहाली गरेका उनले पहिलो सम्बोधनमा भने ‘जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि यथोचित सहयोग गर्नेछु ।’ तत्कालिन संचारमन्त्री शंकर पोखरेलको समयमा शुरु गरिएको भवनलाई पूर्णता दिन र सञ्चार क्षेत्रको वृद्धि विकासका लागि आफू सदैव सहयात्री बन्ने उनेले बताए ।
उनको मन्तव्यको छोटकरी अंश यस्तो छः
एउटा व्यक्तिको रुपमा मैले प्राप्तगरेको यो जिम्मेवारी व्यक्तिगत इमान्दारीताको कसीमा मैले जवाफदेहिता बोक्नुपर्छ होला । तर यो सफलताको श्रेय यसको पछाडीको तागत उकाली ओरालीको यात्रा र यो सफलता प्राप्त गर्न गरिएका मेहनत बगाइएका रगतहरु र पसिनाहरु ती सबै संयुक्त बामगठबन्धन र यसले सर्जित गरेको नयाँ प्रकारको राजनीतिक संदेश र त्यसले लिएको उचाई हो भन्ने मलाई लाग्दछ । त्यस हिसाबले तपाईहरुले जसरी मलाइ भव्य स्वागत गर्नुभयो, बधाई दिनुभयो त्यो बधाइ एवम् स्वागत हामी सबैको हो भन्ने मलाई लाग्दछ । आज काभ्रे जिल्लामा उभिएर हेर्दा सिंगो देशको कुरा गर्नुपर्दछ तर जुन माटो जुन धर्ती जुन हात एवम् मष्तिष्कले यो ठाँउमा पु¥याउने चरणको निर्माण ग¥यो त्यो स्वभाविक रुपमा यही जिल्ला हो, त्यसैले यो जिल्लाका दाजुभाई दिदी बहिनीहरु, पार्टीका कमरेडहरु र बामगठबन्धनका सदस्यहरु र स्वतन्त्र सहयोगी महानुभावहरुलाई समेत म स्मरण गर्न चाहन्छु । उहाँहरु सबैको यो सफलता हो भन्ने ठानेको छु , अब हाम्रो काँधमा जिम्मेवारी रहेको छ हामीले केही सपनाहरु देखेका छौ । हामीले केही संकल्प लिएका छौँ र हामीले केही लक्ष्यहरु प्राप्त गर्नु छ, देशको खुशीयालीका निम्ति, देशको स्वाधीनताको निम्ति, देशको समृद्धिको निम्ति र आम नागरिकहरुलाई यर्थाथतामा लोकतन्त्रलाई जीवनमा अनुदित हुने आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक हिसाबले अधिकार सम्पन्न भएका जनतालाई अब ब्यवहारमा त्यो अनुभुति हुनसक्ने आधार हामीले सिर्जना गर्नुपर्दछ । स्वभाविक रुपमा प्रधानमन्त्री ज्यूले निश्चित केही मुद्दाहरु सार्नुभएको छ, उहाँले सार्नुभएको मुद्दा राजनैतिक स्थिरताका लागि हो । त्यसैगरी उहाँले अगाडी भन्नुभएको छ अब यो मृुलुक गरिब रहिरहन सक्दैन पछाडी पर्न सक्दैन र अब यो मुलुकले प्रगतिका पाइलाहरु अगाडी बढाउनुपर्दछ । अब एउटा निर्माणको महाअभियानमा राष्ट्र होमिनु पर्दछ र त्यसको निम्ति उहाँले सबैलाई नागरिक, प्रशासनिक यन्त्रलगायत सबैलाई एउटा अपिल गर्नुभएको छ । आजको देश सभ्य, सुसंस्कृत, सम्वृद्धमात्र नभई भ्रष्टचार मुक्त पनि हुनुपर्ने बताउनुभएको छ । त्यसरी नै हामीले सफलता प्राप्त गर्न सक्छौँ । हामी त्यहीँ यात्रामा रहेका छौँ, मन्त्रालयको हिसाबले मैले लिएको मन्त्रालय सोझै विकास निर्माणसँग जोडिएको छैन । तर यो सिंगो सरकार हो र सञ्चार क्षेत्र अब हिजो परेवा युग थियो कुनै बेला हुलाक थियो आज डिजिटल हुलाक आइसकेको छ । सबै कुरा इलेक्ट्रोनिक माध्यमबाट अगाडी बढेको छ र एउटा सूचनामा पनि एउटा ठूलै क्रान्ति आएको छ । जसरी हाम्रो देशको राजनीतिमा सम्वृद्धिको यात्राको निम्ति जुन र राष्ट्रिय स्वाधिनताको निम्ति एउटा क्रान्ति सम्पन्न भयो त्यसरी नै सूचनाको क्षेत्रमा तथा सूचना प्रविधिको क्षेत्रमा पनि स्वभाविक रुपमा क्रान्ति आएको छ तर यो क्रान्तिको उपलब्धिहरु पनि प्रत्येक बस्तीमा प्रत्येक नागरिकको हातहातमा, मनमनमा, साथसाथमा पुग्न जरुरी छ । देख्न सकिन्छ नेपालको जनसंख्या भन्दा ज्यादा मोबाइल सेटहरु विक्री भएको रेर्कड छ । तर अझै पनि कति प्रतिशत नागरिकको हातहातमा यो छैन । त्यसैगरी अब सञ्चार प्रविधि लगायत शिक्षामा, स्वास्थ्यमा, रोजगारी सिर्जनामा, सम्वृद्धिको क्षेत्रमा पनि जानुपर्दछ साथै यी चीजहरु वातावरण संरक्षणको क्षेत्रमा समेत हितकारी हुनुपर्नेे छ । अर्को ठूलो महत्वपूर्ण कुरा मोबाइल सेटहरुबाट उत्सर्जन हुने कार्बन विकिरण लगायतले मानव स्वास्थ्यमा पार्ने प्रभावको विषय पनि गम्भीर रुपले आएको छ । तारको युग गएको र अप्टिकल फाइबरको युग आएतापनि सहरहरु तारहरु झोल्ट्याएर कुरुप बनाएकाले त्यसको सुधार गर्नुपर्नेे छ । मैले जुन क्षेत्रको जिम्मेवारी पाएको छु सबैभन्दा पहिला म त्यही विषयमा समर्पित हुनुपर्दछ र अरु कुरा पनि निर्वाचनको बेलामा संकल्प गरेका कुराहरु मुख्यतया काभ्रेपलाञ्चोकमा आफूले गरेका संकल्प झुटा नभएको प्रमाणित गर्नु रहेको छ र त्यसका लागि स्थानीय सरकारहरु बनिसकेको र प्रदेश सरकार भर्खर बनेको छ र बन्दै छ, केन्द्रीय सरकार पूर्णताको चरणमा पुगेको छ, त्यसैले हामी सित एउटै विषयमात्र बाँकी रहेको छ । त्यो हो योजना सहितको काम, इमान्दारिता, र प्रगति हाँसिल गर्ने कुरा । अब हामीले गफ गरेर समय बर्बाद गर्नका निम्ति बामगठबन्धन र सरकारलाई हेनर्स हुँदैन । त्यसैले हामीले कामद्वारा जनतालाई खुशी पार्नुपर्छ । त्यसको निम्ति हामी खरो उत्रिुपर्दछ । हामी परिक्षणमा सफल हुनुपर्दछ । यदि व्यक्तिको रुपमा म सफल भएमा काभ्रे जिल्लाले धक्का महशुस गर्नेछ । हाम्रो भावी पुस्तालाई पनि यसले मार्गदर्शन प्रदान गर्नुपर्दछ र हामीहरु कुनै प्रकारको नराम्रो मार्गतर्फ जाने छैनौ । नीजि सम्पति आर्जन वा सुख सयल प्राप्त गर्ने उद्देश्यले मात्रै राष्ट्रिय झण्डाको, दुरुपयोग नगर्ने तथा संकल्पित योजनाको माध्यमबाट आगामी पाँच वर्षभित्र देशलाई सबै क्षेत्रमा काँचुली फेरेको देखाउन चाहेको छौ । स्वभाविक छ हामीकहाँ आइटी पार्क बनेको छ । सुनेअनुसार अमेरिका युरोपियन म्यानपावर महँगो छ तर आइटी क्षेत्रमा कामगर्ने नेपाली वा अन्य क्षमता राख्ने युवाहरुको पङ्तिले काम गर्न सक्दछ । जतिखेर अमेरिका सुत्दछ नेपाल उठ्दछ । त्यसैगरी उपलब्धिहरु हाँसिल गर्न सकिन्छ । मैले पनि धेरै कुराहरु जान्न बाँकी रहेको छ विभिन्न मन्त्रालयको कमजोरीहरु पत्ता लगाउन, सुधारका योजनाहरु अगाडी बढाएर सफलीबोध गराउनुपर्ने हुन्छ जसको लाभ भावी पुस्ताले लिनु पर्दछ । विद्यालय शिक्षामा चकडस्टरको युग गयो त्यसैले अब मल्टिमिडियाको कक्षा सञ्चालन गर्ने, विशेषज्ञ कक्षा सञ्चालन शिक्षामन्त्रालयले ग¥यो भने आफ्नो मन्त्रालयले सहकार्य गर्ने छ । एउटै मन्त्रालय सर्बेसर्वा नहुने भएकाले सबै मन्त्रालयहरुको समन्वय प्रधानमन्त्रीको नेतृत्वमा अगाडी बढ्छन नै । जहाँसम्म काभ्रे जिल्लाको एउटा अर्को चाहाना छ निर्वाचनको बेलामा उठेको विषय प्रदेश सभामा निर्णयार्थ पेश होला संवैधानिक व्यवस्थाको हिसाबले प्रदेशको राजधानीको कुरा केन्द्रीय सरकारको मातहतमा रहेता पनि त्यसमा सम्बन्धित प्रदेश सांसदहरुले पेशगरेको र त्यसमा लक्ष्य नजिक नजिक पुगेकोे छ । उक्त विषय छुट्टै भएकोले त्यसमा आफू बोल्न सान्र्दभिक नहुने तर आफू त्यसमा विश्वस्त रहेको छु । साथीहरुलाई अनुरोध गर्न चाहन्छु भेटघाट छलफल गर्नका लागि आफू पार्टी नेतृत्व सँग रहने र हरेकसँग सञ्चार सम्बन्ध रहने छ । सूचना, प्रविधि शिक्षा, स्वास्थ जस्ता क्षेत्रमा पनि प्रवेश गर्ने साथै यो आम्दानीको राम्रो स्रोत भएको छ, सूचनासँगै प्रविधिको नाम जोडिएर आउने भएकाले यसमा गर्न सकिने सुधारलाई अगाडी बढाउन सकिने र नेपालको सञ्चार खर्च धेरै महङ्गो भएको र यसमा सरल र सुलभ पहुँच बनाइने छ ।
भारतका कतिपय सञ्चार कम्पनीको तुलनाका नेपालमा ३० गुणासम्म महङ्गो भएको र त्यसमा आफू विज्ञहरुसँग छलफल गरी सबैको पहँुच र सस्तो सुलभ एवम् भरपर्दो बनाउनका लागि लागिपर्ने छु ।