
बनेपा,आगामी बैशाख १५–१७ गतेसम्म विहावरमा हुने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव’ को उद्घाटन प्याराग्लाइडिङ उडाएर गरिने भएको छ ।
महोत्सवको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार कुशादेवी सरोकार समाजको मुख्य आयोजना तथा पनौति नगरपालिकाको सह–आयोजनामा हुने उक्त महोत्सवको उद्घाटन पर्यटन मन्त्री रविन्द्र अधिकारी र सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले संयुक्त रुपमा गर्नेछन् ।पत्रकार सम्मेलनमा विहाबर क्षेत्र पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर थापाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार महोत्सवको पहिलो दिन बैशाख १५ गते विहान ८ बजे पनौति नगरपालिका वडा नं. ३ चालिसेबाट शुरु भई पुछारी हुँदै गुर्दुमसम्म हाइकिङ, त्यसैगरि स्थानीय खैजडी भजन र झाँक्री नाच सहित विभिन्न झाँकीहरुको प्रस्तुति हुने छ । दिउँसो १२ बजे प्याराग्लाईडिङ कार्यक्रम आयोजना गरिएको छ । त्यसको लागि १५ वटा प्याराग्लाइडिङ र पाईलटको समेत व्यवस्था गरिएको छ ।
१६ गते विहान ८ बजे हाफ म्याराथुन पनौति नपा वडा नं. ३ पशुपति मन्दिरबाट शुरु भई सिम्लाबोट, रानीकोट, लाकुरी भञ्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपति मन्दिर हुँदै कुशादेवी मन्दिरमा समापन हुनेछ । बैशाख १७ गते विहान ८ बजे साइक्लिङ पनौति नपा वडा नं. २ कुशादेवी मन्दिरबाट शुरु भई पर्खालचौर, मानेदोभान, खानीडाँडा, लठ्ठा भञ्ज्याङ, लाँकुरी भञ्ज्याङ, रानीकोट, पाँचकन्या, पशुपति मन्दिर हुँदै कुशादेवी मन्दिरमा समापन गर्ने आयोजकले जानकारी दिए ।
महोत्सवमा करिब १ लाख दर्शकले अबलोकन गर्ने अनुमान आयोजकको छ । आयोजकका अनुसार प्याराग्लाईडिङ, साइक्लिङ र हाफ म्याराथुन यस महोत्सवका मुख्य आर्षण हुन् भने स्थानीय खैजडी भजन, झाँक्री नाँच, लोकदोहोरी, कन्सर्टका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण हुनेछन् । पत्रकार सम्मेलनमा संयोजक थापा, पनौति नगरपालिकाका मेयर भिम न्यौपाने, समाजका वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी लगायतले कार्यक्रमबारे जानकारी गराएका थिए ।