लोक गीत संगीत नै हाम्रो पहिचान हो-किरण गौतम,गायक

जिल्ला बेथानचोक गाउँपालिका २ का किरण गौतम यतिबेला देशैभर चर्चामा रहेका छन् । उनको पछिल्लो गीति संग्रह काभ्रे जिल्ला मायाको लालकिल्लाले उनी चर्चामा रहेका हुन् । छोटो समयमा नै दर्शक श्रोतालाई मनपर्ने गीत पस्केर चर्चामा रहेका उनका पछिल्लो गीत काभ्रे जिल्ला मायाको लालकिल्ला यतिबेला सबैको मुखमा झुण्डिएको छ । उनै गायक किरण गौतमसँगको छोटो कुराकानी यहाँ प्रस्तुत छ ः28423119_2250911825139424_2478772372243726658_o

० तपाईंको पछिल्लो गीत काभ्रे जिल्ला मायाको लालकिल्ला खुब चर्चामा छ । यसको राज के हो ?
हामिले यो गीतमा धेरै मिहेनत पनि गरेका छौं । लामो समय सम्म पेन्डिङ मा राखेर गणेश आचार्य दाइ मुरारी अधिकारी सर र म धेरै छलफल र करेक्सन पछि यो गीत तयार भएको हो । थेगो पनि त्यस्तै राखिएको छ चाइनिजो जुन अहिले पनि सुन्दा छुट्टै फिल आउँछ । समग्रमा हामी सबैको मेहेनतले नै यो सम्भव भएको हो र विशेष गरी अरुण राउत दाइलाई धन्यवाद भन्नै पर्छ ।
० दर्शक श्रोताको मायालाई कसरी बचाई राख्ने तयारीमा हुनुहुन्छ ?
अहिले जसले पनि तपाईंको गीतहरु अरुको भन्दा फरक छन् धेरै राम्रो छ अझै राम्रो गर्नुस् भनिरहनु भएको छ । म लोकदोहोरी नै सुन्दिन तर तपाईंको सबै गीत अत्यन्त मनप¥यो भन्ने साथीहरु पनि हुनुहुन्छ । माया, यो एउटा विश्वास जुन किरण गौतमको गीत चाहिँ अरु भन्दा फरक हुन्छ, राम्रो हुन्छ भन्ने विश्वास छ यसलाई कम हुन दिने छैन । अब आउंदै गरेको बर्खेघट्टले यो कुरा प्रमाणित गर्ने छ ।
० कहिले देखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
ठ्याक्कै मिति त याद छैन तर दुई वर्ष पुग्न लाग्यो कि ।
० यो क्षेत्रमा आउनु अघिको तपाईको जीवन ?
धेरै गरियो गर्न बाँकी केही राखिएन ।
० आएपछिको उपलब्धी ?
उपलव्धी भन्नुपर्दा धेरै जनाले चिन्नु हुन्छ । माया गर्नुहुन्छ ! परिचय फेरिएको छ । लक्ष्य फेरिएको छ । धेरै खुसी लाग्छ ।
० यही क्षेत्र रोज्नुको कारण ?
विशेष कारण त केही छैन । सानै देखि गाउन मन पराउने म । बिचमा लोकदोहोरीमा ढल्किएँ गाउँघरमा रत्यौली, अनलाइन रोधी तिर गाउँदा गाउँदै कति खेर यहाँ आइयो पत्तै भएन । रहरै रहरले तान्यो भनुम कि ।
० यो क्षेत्रमा जम्न कतिको सजिलो छ ?
जम्नुको पनि आफ्नै परिभाषा होला, म त नयाँ छु बल्ल बामे सर्दै, गीतहरु हिट हुँदै गईरहेका छन् । हेरौं अहिलेलाई दर्शक श्रोताको माया नै मेरो लागि सबथोक हो ।
० यस क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
अहिलेसम्मको अवस्थाले त सकिन्छ जस्तो त लाग्दैन । सक्ने व्यक्तिहरु पनि हुनुहुन्छ । हुन त नसकिने भन्ने कुरा त केही हुन्न भन्छन् सकिन्छ कि कोसिस गर्दै छु ।
० विकृतिहरु कतिका छन् ?
विकृतिको कुरा नगरौं, सबैलाई थाहा भएकै कुरा हो छाडापन भयो लोकदोहोरीमा भन्दाभन्दै त्यो कम हुँदै गएको जस्तो लाग्छ बरु । अहिले त पुराना गीतको लय शब्द चोर्ने भन्ने हल्लाहरु आइरहन्छन यहि नै होला ।
० प्रतिस्पर्धा ?
प्रतिस्पर्धा त झन् के कुरा गर्नु नयाँ मान्छे हामी, पुराना अग्रजहरुसँग जुध्नु पर्ने अवस्था छ । अग्रजले सल्लाह सुझाव दिनुहोला भन्ने आशा ग¥यो उल्टो अलिकती राम्रो गीत बनायो भने मेरो गीत मैले लेखेको गीत फलानोले गायो भन्दै हिँड्नुहुन्छ, दुख लाग्छ । स्वच्छ प्रतिस्प्रर्धाको लागि जहिले तयार रहनु पर्छ कलाकार । आफुलाई फलाम र अरुलाई सिसा देख्ने धेरै हुनुहुन्छ ।
० यस क्षेत्रका समस्या के देख्नुभएको छ ?
धेरै छन्, लगानी सुनिश्चित छैन, कलाकारले गीत नै गाएर बाँच्छु भनेर हिम्मत गर्न सक्ने अवस्था छैन हाम्रो काठ क्षेत्रमा, स्टेज तिर राम्रा भन्दा नि हाम्रा अनि सकेसम्म सित्तैमा आउने खालका कलाकारलाई प्राथमिकता छ र सवैभन्दा ठूलो समस्या एउटा कलाकारले अर्को कलाकारलाई कलाकार नेदेख्ने । आफ्नो गीत चाहिँ गीत, अरुको गीत चाहिँ केही न केही जस्तो । एकाअर्कालाई सम्मान सहयोग हुनु जरुरी छ जस्तो लाग्छ । गीत कसको राम्रो कसको नराम्रो त्यो छुट्याउन त दर्शक श्रोता हुन्हुन्छ नि । मिडियामा पनि त्यस्तै छ तोकेर भनिन् मैले बुझ्नेले बुझ्नु हुन्छ नि ।
० समाधान कसरी देख्नुहुन्छ ?
समाधान भनेको सबैले आ–आफ्नो ठाउँबाट जति सकिन्छ सुधारको कोसिस गर्नु पर्छ । हाम्रा भन्दा नि राम्राको ख्याल गर्नु पर्ला अनि कलाकारमा रिस होइन आपसी सद्भाव अनि सामिप्यताको आवश्यक छ कि जस्तो लाग्छ ।
० आगामी योजना ?
दुई तीन ओटा गीतको तयारीमा छु । तत्काललाई मेरो आफ्नै लय शब्दमा बर्खेघट्ट शीर्षकको गीतको तयारीमा छु ।
० जीवन ?
खुशी, पीडा अनि संघर्ष ।28423119_2250911825139424_2478772372243726658_o
० प्रेम ?
मीठो अनुभुति ।
० कलाकारिता ?
मेरो चैँ प्यासन ।
० अन्तमा केही भन्नु छ ?
सर्वप्रथम यो अवसरको लागि हजुर लगायत सम्पुर्ण टिमलाई सहृदय धन्यवाद । अनि मलाई चिन्नु हुने नचिन्नु हुने सम्पुर्ण दर्शक श्रोताहरुमा नमस्कार टक्राउँदै अझै माया गर्दै जानुस् । यस्तै हौसलाले उर्जा थप्दै जानुस् हजुरहरुलाई निराश बनाउने छैन । लोक गीत संगीत नै हाम्रो पहिचान हो यसको जगेर्ना गरौँ भन्दै बिदा हुन चाहन्छु । जय काभ्रे । जय लोक दोहोरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *