
कुन्तावेशी,मण्डनदेउपुर नगरपालिकाले नगरभित्र रहेको अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राज्यबाट पाउने सेवा सुविधा उपलव्ध गराउन परिचयपत्र उपलब्ध गराउने कार्य शुरु गरिएको छ ।
गत बैशाख १५ गतेदेखि शुरु गरिएको कार्यलाई बुधबार पनि जारी राखियो । महिला तथा बालबालिका कार्यालय जिल्लाबाट स्थानीय तहमा गईसकेपछि मण्डनदेउपुर नगरपालिकाले पहिलो पटक नगरपालिकाबाट नै त्यस्ता ब्यक्तिहरुको पहिचान गरी परिचयपत्र वितरण गर्ने काम शुरु गरिएको नगरपालिका उपप्रमुख निर्मला शाहीले बताईन । उपमेयरको संयोजकत्वमा अपाङ्गता समिति गठन गरेर वडा÷वडाबाट नै विवरण संकलन गरी त्यसको आवश्यक छानविन गरी कुन वर्गको अपाङ्गता हो, त्यही अनुसार परिचयपत्र वितरण गर्ने काम शुरु गरेको उनले बताईन । अपाङ्गता भएका ब्यक्ति र उहाँका अभिभावकहरुलाई सहजता प्रदान गर्नका लागि सबै वडाहरुमा प्रत्यक महिनाको १५ गते फारम वितरण तथा संकलन गरी त्यसको आधारमा परिचयपत्र वितरण गर्दै आएको छ । मंसिरसम्म जिल्लाबाट बनाएर पठाएको परिचयपत्रले काम गर्ने र त्यसपछि स्थानीय तहले बनएको परिचयपत्रले काम गर्ने भएकाले पुरानाहरुको नविकरण गर्ने काम समेत संगसंगै भईरहेको संयोजक शाहीले बताईन् । अहिले नयाँ परिचयपत्र बनाएकाहरुले मंसिरबाट मात्रै सेवा सुविधा पाउने छन । अपाङ्गता भएका ब्यक्तिका आघारमा परिचय पत्र र सुबिधा पाउने छन । जस अनुसार ‘क’ वर्गको रातो परिचयपत्र पुर्ण अशक्त अपाङ्गता भएकाले पाउने छन । ‘ख’ वर्गको निलोे परिचयपत्र अति अशक्त अपाङ्गता भएकाले पाउने छन । भने ‘ग’ वर्गको पहेलो परिचयपत्र मध्यम अपाङ्गता भएकाले र ‘घ’ वर्गको सेतो परिचयपत्र सामान्य अपाङ्गता भएकाले पाउने छन । तेहि अनुरुप अघिल्लो महिनाको १५गते संकलन भएका फारम मध्ये दश जनाले ‘क’ वर्गको रातो परिचयपत्र, बीस जनाले ‘ख’ वर्गको निलो परिचयपत्र र बाईस जनाले ‘ग’ वर्गको पहेलो परिचयपत्र प्राप्त गरेका थिए । यस्तै दोस्रो पटक बुधवार गरिएको फारम संकलनको आवश्यक छानविन गरी केही दिनमा परिचयपत्र वितरण गर्ने उपप्रमुख शाहीले बताईन । यसअघि मण्डनदेउपुर नगरपालिकाभित्रमा पाँच सय एकहत्तर जना अपाङ्गता भएका ब्यक्तिहरु रहेको विवरण बुझाईसकेको छ । अवस्था अनुसार क र ख वर्गका परिचयपत्र पाउने बाहेक ग र घ वर्गका परिचय पत्र पाउनेहरुका लागि नगरपालिकाले बजेटको व्यवस्था गरिसकेकाले छिट्टै सीपमुलक तालीम कार्यक्रमहरु सञ्चालन गर्ने तयारी भईरहेको पनि उपप्रमुख निर्मला शाहीले बताईन् ।
सरकारले ‘क’ वर्गको रातो परिचयपत्र भएकालाई २ हजार र ‘ख’ वर्गको निलोे परिचयपत्र भएकालाई ६ सय सामाजिक सुरक्षा भत्ता ब्यवस्था गरेको छ । त्यस बाहेक ग र घ वर्गका परिचय पत्र पाउनेहरुका लागि नगरपालिकाले बजेटको व्यवस्था गरी सहयोग गर्ने छ ।