
धुलिखेल,जिल्लाका भुकम्पपीडितहरुले आउदो फागुन मसान्तसम्म निजी आवास निर्माण सम्पन्न नगरे पहिलो र दोस्रोे किस्ताबापतको रकम समेत फिर्ता गर्नुपर्ने भएको बताईएको छ ।
शुक्रबार पत्रकार महासंघको आयोजना तथा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको सहयोगमा भएको निजी आवास निर्माण सम्बन्धी जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । प्रतिनिधि तथा प्रदेश सभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न कार्यालयहरुको सहभागितामा निजी आवास निर्माणमा भइरहेको ढिलाईको बारेमा भएको अन्र्तक्रिया कार्यक्रममा प्रतिनिधिसभाका सांसद गंगाबहादुर दोङ बमध्वजको अध्यक्षतामा बसेको जिल्ला समन्वय समितिको बैठकले २०७५ चैत मसान्तसम्म दोस्रो किस्ता लिएर तेस्रोे किस्ता नलिएकालाई २०७६ फागुन मसान्तसम्म लिनुपर्ने बाध्यकारी नियम बनाएको अन्र्तक्रिया कार्यक्रममा सांसद बमध्वजले बताए । यसको कार्यान्वयनमा सबै लाग्नुुपर्ने भन्दै उनले असार मसान्तसम्ममा सम्झौता सक्नुपर्ने तथा कात्तिक मसान्तसम्म दोस्रो किस्ता लिईसक्नुपर्ने तथा कार्तिक मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने गरी कार्यविधि बनाएको जनाए । कार्यक्रममा सांसद नवीना लामा, जिल्ला समन्वय प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख लोकनाथ रेग्मी, जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) प्रमुख महालक्ष्मी जोशी,पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले भूकम्पपछिका समस्या र चुनौतीका बारेमा बोलेका थिए ।