
बनेपा,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद स्कोटाले ‘भ्रमण बर्ष’ सन् २०२० मा नेपालमा अन्तराष्ट्रिय मिडिया समिट गरिने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन ब्यवसायी संघ ३ नंवर प्रदेशको प्रथम अधिवेशनलाई शनिवार बनेपामा सम्बोधन गर्दै भ्रमण बर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तराष्ट्रिय मिडिया समीट गर्ने बताउनुभएको हो । ‘भ्रमण बर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तराष्ट्रिय मिडिया समिट गर्नेछ’ उहाँले भन्नुभयो ।
मन्त्री बाँस्कोटाले होटल तथा पर्यटन ब्यवसायीलाई मिडिया समिटका लागि सरकार सँगै ‘लिड गर्न’ पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘भिजिट ट्वान्टी ट्वान्टी भनेर तपाईहरु पनि लिड गर्नुस्, पक्कै सफल भइन्छ ।’ उहाँले सन् २००८ मा थाइल्याण्डमा भएको बाढीको उदाहरण दिँदै त्यतिबेला थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय मिडिया समिट गर्दा खस्केको पर्यटन क्षेत्रमा ब्यापक मात्रामा परिवर्तन भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो ‘प्राकृतिक प्रकोप त जहाँ पनि हुनसक्छ, हामीले त्यसको सामना गर्ने हो ।’ मन्त्री बाँस्कोटाले संगठन, ब्यवसाय, विकास, सम्बद्र्धन तथा राष्ट्रलाई टेवा र सुरक्षा पु¥याउने गरी योजना ल्याए सरकार होटल तथा पर्यटन ब्यवसायीलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘तपाईहरुले बाह्य मात्रै हैन आन्तरिक पर्यटनमा समेत ध्यान दिनुपर्दछ’ उहाँले भन्नुभयो ‘अनुचित बार्गेनिङको विषयका निम्ति कुनै संघ संस्था बनाइरहनु राष्ट्रलाई अहितकर हुन्छ, बार्गेनिङ गरेर पाइन्छ भन्ने कुरा कसैले पनि नसोच्नुहोला ।’ मन्त्री बाँस्कोटाले भ्रमण बर्षका लागि सरकारले औपचारिक रुपमा मात्रै रु १० करोड छुट्याएको बताउनुभयो । ‘भ्रमण बर्षका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड लगायतले सहयोग गर्नेछन्, हामी सबै भ्रमण बर्ष बर्ष सफल पार्न आ–आफ्नो क्षेत्रबाट जुट्नुपर्दछ’ उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले ठूला होटलको अवधारण ल्याउनेका लागि सरकारले सडक, विजुली, इन्टरनेट लगायत पूर्वाधारको विकास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ठूला होटल तथा पर्यटकीय संरचना तयार गर्न चाहनेलाई सरकारले आरक्षण क्षेत्र बाहेक उपयुक्त स्थानमा लिजमा पनि जमिन दिनसक्छ, योजना बनाएर आउनुहोस् ।’ मन्त्री बाँस्कोटाले शनिवार नै धुलिखेल नगरपालिकाद्वारा निर्माण हुने सभाहलको शिलान्यास गर्नुभयो । करिब चार करोडको लागतमा निर्माण हुने सभाहलको क्षमता छ सय जना रहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले जानकारी दिनुभयो ।