कृषिलाई आधुनिकीकरण गर्नु पर्छ–बाँस्कोटा

पूर्वमन्त्री एवं संघिय सांसद गोकुलप्रसाद बाँस्कोटाले नेपालमै खाद्यान्न र आवश्यक वस्तुको उत्पादनतर्फ लागेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेतीको मङ्गलबार उद्धाटन गर्दै उनले कृषिलाई आधुनिकीकरण गर्दै औद्योगिकीकरणतर्फ लाग्ने र प्रविधिमार्फत श्रम बचाएर अन्यत्र नयाँ उत्पादनका काममा प्रयोग गर्नुपर्ने बताए । अब ड्रोनमार्फत घरमै बसेर खेतबारीमा पानी र औषधि छर्नेतिर लाग्नुपर्छ भन्दै उनले नेपालको रु चार हजार अर्बको समग्र उत्पादनमध्ये कृषिबाट २९ प्रतिशत भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले नेकपामा होहल्ला मात्रै भएको भन्दै अन्तिममा केही नहुने बताए । नेकपालाई ठूलो घरको सङ्ज्ञा दिँदै उनले भने, “नेकपा ठूलो घर हो, अहिले कल्याङकुलुङ मात्रै बढी भएको हो, केही हुनेवाला छैन, कोही कसैलाई हल्ला गर्दा ‘केही झर्ला कि’ झैँ लागेर मुख मिठ्याउन पाइन्छ होला भन्ठानेर गर्या हल्ला हो यो, यसको कुनै औचित्य छैन ।”

चण्डेनी मण्डनको बाँसगेडी माझी बगरको २ सय रोपनी जग्गा चक्लाबन्दी शुरु गरिएको हो । प्रधानमन्त्री कृषि आद्युनिकिकरण परियोजना सुपरजोन काभ्रेको यन्त्र मैत्री गर्हा सुधार गरि सामूहिक खेती प्रणाली कार्यक्रम अन्तर्गत उक्त बगरमा चक्लाबन्दी गरिन लागिएको सुपरजोन काभ्रेका सचिव सुमन नेपालले जानकारी दिए । अहिले उक्त क्षेत्रमा चक्लाबन्दीको कार्य भैरहेको छ ।
कार्यक्रमा मण्डनदेउपुर नगरपालिकाका उप प्रमुख निर्मला शाही, सुपरजोन सिन्धु तथा काभ्रेका प्रमुख प्रकाश पौडेल, सुपरजोन काभ्रेका अध्यक्ष हरि खतिवडा, मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेल, स्थानीय समाजसेवी एकराजकुमार शाही, कृष्णकुमार श्रेष्ठ, हरिप्रसाद नेपाल, वडाध्यक्षहरु झलकप्रसाद पौडेल, जितबहादुर तामाङ, विष्णुमणी नेपाल, उद्योग वाणिज्य संघ मण्डनदेउपुरका अध्यक्ष बद्रिप्रसाद नेपाल लगायत मण्डनदेउपुर स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र चण्डेनी मण्डन भेगका कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *