नमोबुद्धका किसानका लागि ‘जिओ कृषि एप’


भकुण्डेबेशी,नमोबुद्ध नगरपालिकाका किसानहरुले अब मोबाइल एप मार्फत नै कृषि उत्पादन सम्वन्धी जानकारीका साथै बजारबारे जानकारी पाउने भएका छन् ।
नमोबुद्ध नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा डिजिटल कृषि सूचना केन्द्र, सरल कृषि विस्तार सेवा (जिओ कृषि एप) हस्तान्तरण भएसँगै अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुलक बनाउन सक्ने भएका हुन् । हिजो भकुण्डेबेशीमा आयोजित कार्यक्रममा इसिमोड, सिप्रेड र पाथवेको टोलीले नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई सेवा हस्तान्तरण गरेको छ । कार्यक्रममै नगर प्रमुख तिमल्सिनाले ११ वटै वडाका लागि सेवा हस्तान्तरण गरेका थिए ।
यो सेवा सुरु भएसँगै डिजिटल नमोबुद्धको अभियान एक कदम अगाडि बढेको छ । अब नमोबुद्धका किसानले आफूले कुन समयमा कुन बाली लगाउने भन्नेबारे मोबाइल एपमार्फत नै जानकारी पाउनेछन् भने दैनिकरुपमा बजारभाउको जानकारी पनि पाउनेछन् । यस्तै बाली लगाउने क्रममा कुनै समस्या आए त्यसको समाधान गर्नका साथै रोग किरा देखापरेमा त्यसलाई नियन्त्रण गर्ने उपायसमेत मोबाइलमार्फत नै जानकारी पाउनेछन् । किसानलाई मोबाइल एपमै विज्ञहरुको सेवा उपलव्ध गराइनेछ । एपमा किसानदेखि प्राविधिक र बजारसम्म समटिएको जिओ कृषि इन्क्युवेसन सेन्टरका कार्यक्रम निर्देशक रादिप तण्डुकारले जानकारी दिए । उनका अनुसार किसानले कहाँ, कसरी के रोप्ने र कसरी बिक्री गर्ने भन्नेबारे सबै जानकारी एपमार्फत नै पाउनेछन् । ‘बाली रोपाईदेखि कटाईसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ’ तण्डुकारले भने, ‘यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्त गराउन मद्दत पुग्नेछ ।’
इसिमोडकी इकोसिष्टम एनालिष्ट इरिका उदासका अनुसार किसानले यो एप प्रयोग गर्दा धेरै खर्च बेहोर्नु पर्दैन । बर्षमा एक सय रुपैयाँ जति खर्च गर्दा बर्षभरि एप चलाउन सकिनेछ । किसानलाई सहज, सुलभ होस् भन्ने उद्देश्यले एपलाई ‘अफलाइन’ मै चल्नसक्ने व्यवस्था गरिएको छ । सूचनामा किसानको पहुँच आवश्यक रहेको कुरालाई मध्यजनर गर्दै आफूहरुले जिओ कृषिको अवधारणा ल्याएको उदासले बताइन् । उनका अनुसार इसिमोड र सिप्रेडले पाथवेसँगको सहकार्यमा नमोबुद्ध नगरपालिकामा पहिलोपटक यो सेवा सुरु गरेको । यसबाट राम्रो मुल्यमा किसानले आफ्ना उत्पादन बिक्री वितरण गर्न सक्ने अपेक्षा गरिएको उदासको भनाई छ ।
हस्तान्तरण कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएपछि डिजिटल नमोबुद्धको अवधारणा अघि सारिएको र अब कृषिमा समेत प्रविधिको प्रयोगले त्यसमा थप मद्दत पुगेको बताए । यसअघि नै शिक्षा क्षेत्रमा यु लर्निङ, टकिङ टिचर लगायतका कार्यक्रममार्फत डिजिटल नमोबुद्धको अवधारणालाई अघि बढाइएको तिमल्सिनाले बताए । कृषि र वातावरणमैत्री नगर बनाउने आफूहरुको अभियान रहेको र वातावरणमैत्री नगरको योजनालाई विभिन्न कार्यक्रममार्फत मुर्तरुप दिइएको तिमल्सिनाले बताए ।
यो एप परिक्षणकै क्रममा नमोबुद्ध नगरपालिकाका ३ सय ६५ जना किसान आवद्ध भइसकेका छन् । एपमा नमोबुद्ध नगरपालिका भित्र लगाइने २० वटा बालीलाई प्राथमिकताका साथ राखिएको छ भने अन्य बालीहरुलाई पनि समेट्दै लगिने बताइएको छ । परिक्षणकै क्रममा यो एप प्रयोग गरिरहेका अगुवा किसान भरत न्यौपानेले आफूहरुका लागि एप निकै उपयोगी र आवश्यक रहेको बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडाअध्यक्षहरु सञ्जीव ढकाल, उवद्धप्रसाद काफ्ले, कुलप्रसाद न्यापाने, धर्मसिं लामा तथा नगर कार्यपालिका सदस्यहरु तथा किसान प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *