आजदेखि काभ्रेमा पनि निषेधाज्ञा, निषेधाज्ञाको पालना गरौं

बनेपा, बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ रोगको नयाँ भेरियन्टको संक्रमण दिन प्रति दिन बृद्धी हुँदै गएपछि काभ्रेमा पनि आजदेखि निषेधाज्ञा शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हिजो राति १२ बजेबाट लागु हुने गरि काभ्रेमा निषेधाज्ञा लागु गरेको हो । शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आईतबार राति १२ बजेबाट लागु हुने गरि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कार्यालयले अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सदरमुकाम, पाँचखाल बजारक्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५ सय मीटर क्षेत्र, बनेपा तीनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ बायाँ ५ सय मीटर दुरीभित्र निषेधाज्ञा लगाएको हो ।
यसैगरी बनेपा–पनौती–खोपासी सडकको दायाँ बायाँ ५ सय मिटर, बिपी राजमार्गको धुलिखेलचोक, काभ्रेभन्ज्याङ–भकुण्डेवेंशी हुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ २ सय मिटर र पाँचखाल जिरो किलो–हेलम्बु राजमार्गको कुन्तावेंशीसम्म सडकको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
जिल्लामा सबै प्रकारका सभा, सम्मेलन, बिद्यालय, सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने, जिल्लाभित्र विकास निर्माणको काममा प्रयोग ह्ुने निर्माण सामग्री ढुवानी साधन बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्नेछ । विवाह तथा ब्रतबन्ध कार्यक्रममा दुलाहा, दुलहीसहित बढीमा २५ जना मात्रै हुनुपर्ने, विवाह, ब्रतबन्ध कुनै अर्को स्थानमा जानुपर्ने भएमा वा फर्कनु पर्ने भएमा दुई वटा सवारी साधनमा बढीमा १५ जना सम्मको लागि स्थानीय तहसँग सिफारिस लिइ जान सकिने व्यवस्था मिलाइएको छ ।
प्रशासनले एम्बुलेन्स, तरकारी, इन्टरनेट, अस्पताल, दुध, फलफुल, तरकारी, खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग हुने साधनहरु विषय उल्लेख गरि सञ्चालन गनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *