बनेपा, ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । यहि क्रममा देशभर एकै साथ सुरु भएको गणकहरुको तालिम काभ्रेमा पनि सम्पन्न भएको छ ।
केन्द्रीय तथ्यांक विभागले देशभरका जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरेको हो । यो १२औं राष्ट्रिय जनगणना हो । काभ्रेमा घर तथा घरपरिवार सूचिकरणका लागि १ सय २७ जना सुपरिवेक्षक खटाइएका थिए । उनीहरुले असोज १८ गतेसम्म सूचिकरण सम्पन्न गरेका छन् ।
अब कात्तिक २५ गतेबाट मुख्य जनगणना कार्यका लागि जिल्लामा ५ सय ९ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय धुलिखेलले जनाएको छ । जनगणनामा सहभागी हुन केन्द्रिय तथ्यांक विभागले सबैलाई आह्वान गरेको छ ।
केन्द्रिय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसीर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दैछ । सोही गणनाका लागि गणकहरुको तालिम गरिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएका थिए । उनीहरुले असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचिकरण सम्पन्न गरेका छन् ।