किसानका गह्रामा फुर्दै असारे भाकाहरु–नवराज बजगाई

छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला बनाई कुलो लगाई पानी आएर गोडौला”


उद्धृत सापटी लयहरु यतिबेला किसानका गह्राहरुमा फुर्न थालेका छन् । गृष्म ऋतु अर्थात् असार, अनि वर्षा ऋतु साउन किसानहरुका लागि हेमन्त अर्थात मंसिर ल्याउने पूर्वाधार । मुठी खाएर मुरी फलाउने याम, सुरम्य हरियाली र उर्वर समय–असार ।
किसानहरुका लागि एउटा पर्व नै हो भन्दा अतिशयोक्ति नहोला । वर्षा ऋतुको कामले मुरी फलाएर बाह्र महिना छाक टार्ने पूर्वाधारको याम । असारे हिलोमा पसिनाका दाना साटेर माना फलाउने याम अर्थात असारको पहिलो साता कट्न लागी सक्यो, किसानहरु खेतीमा व्यस्त भैरहदा रासायनिक मल नहुँदा किसानहरु मारमा छन् । कृषि प्रधान देशमा मलको हाहाकार यतिसम्म हुदा पनि गठबन्धन सरकार लाचार बनेको छ । यो बर्ष पहिले भन्दा केही दिन अघिदेखि वर्षा भैरहेको छ । यतिबेला फाँटका गह्राहरु पहलपुररुपमा झुलेका हिउँदे धानका बालाहरुले पहेलपुर छन् ।
बाँझो खेतमा व्यस्त छन–हलीदाइ, सँगै साथ दिंदै छन– लाठे, रोपारे, ब्याडे अनि असारेभाका र बेठीसँगैको असारे पूmल । कृषि प्रधान देशको विशेषता–वर्षयामका सिमसिमे पानीमा घूम ओढेर खेतीपातीमा लागेका बालकदेखि बृद्धासम्मलाई वर्षायामको पहेलताले जिस्काउँदै छ । चारैतिरका हरियालीबाट गुञ्जिएका असारे भाका, किसानलाई जिस्काउने प्रकृतिसँगै छङछङ गर्दै बगिरहने खहरेखोलाको सुसेलीको बीचबाट साँच्चै कल्पना गरौं त ? काँधमा हलो, जुवा र हातमा कोदालीसँगै लहलहाउँदो बीउको मुठा बोकेर ओरालो झर्दै गरेका लाठे दाइ, डोकामा बीऊ बोकेर पाज्दै गरेका ब्याडे, असारे भाकामा गुगुनाउँदै हिलोसँग खेल्दै गरेका बाउसेदाइ, गुल्युचोलीमा सजिएर हिलोका टीका लगाई चूल्ठोमा असारे फुल सिउरिएर रंगिचंगी प्लाष्टिक र घुम ओढेर बीऊ रोप्दै गरेकी रोपारे दिदी, दबदबे हिलोमा नाच्दै बेठी बाजाको ताल दिंदै गरेका दमाई दाइ अनि यो दृष्य नियाल्दै गरेको प्रकृति, उड्दै गरेको कुहिरोबाट वर्षेको सिमसिमे पानीसँगै सुसाएको मकैबारी, खहरेको छहरा, किसानहरुको घडी अर्थात चाँडै घर जान संकेत दिने झ्याउँकिरी कराई अनि वर्षे बिदामा घर बसेर रोपाईमा नाच्दै गरेको विद्यार्थीहरुको अवोध उत्सुकता काम सकेर खाने दोपरे खाजा लगायत नै असार साउनका विशेषता हुन ।
भने यिनै विशेषताहरुले नै किसानका पसिना र थकाईलाई बिर्साएको हुनेछ । त्यो उकाली ओराली, चिप्लेटी, दबदबेहिलो, सिमसिमे पानीको रुझाई , हातका ठेला यी सबैलाई बिर्साएर हरियो बिऊको मुठाले मंसिरेबाला झुलाईको संकेत दिएको भएर नै त होला सबै किसानहरु हिलोसँग लुकामारी गर्दै मंसिरे भण्डार र कल्पनामा दुःखसुख, भोक, प्यास, घाम, पानी केही पनि नभनी खेतीमा व्यस्त रहेका छन् । भनिन्छ लाशलाई समेत घुमले छोपेर किसानहरु काममा रहने याम हो–असार । जेहोस् वसन्तलाई पारगर्दै आएको गृष्म र वर्षा ऋतुले किसानहरुलाई एकैचोटी शरदलाई भुलाएर हेमन्तमा पु¥याउन सहयोग गरोस् । असार, साउनले किसानहरुलाई अनुकूलता दियोस् । आँखाभरी पहेलपुरता, ओठभरी मुस्कान र मनभरी उमंंग हर्ष र सन्तुष्टिको प्रवाह गराओस् जबकी यसकै कारण दुःख पीडा सब बिर्सन किसानहरु सफल होउन् । सधैंभरी असारे फूलले बासना छरिरहोस्, झ्याउँकिरी बासीरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *