बनेपा, पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइ अभावका कारण यस वर्ष हिजोसम्म वागमती प्रदेशमा ४३ प्रतिशत र काभ्रेमा ६५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
काभ्रेमा हिजोसम्ममा ६५ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ । मुलुकभर अहिलेसम्म लगभग ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मुलुकभर १५ लाख ५२ हजार हेक्टर भूभागमा धान रोपाइँं हुँदै आएको छ । आकासे पानीको भर पर्नु पर्ने कतिपय स्थानमा भने पर्याप्त बर्षा नहुनु तथा सिंचाई सुविधाको समेत अभावमा अझै ५० प्रतिशत भन्दा बढी खेतीयोग्य क्षेत्रमा धान रोपाइँ बाँकी छ ।
काभ्रे जिल्लामा विशेष गरी रोशी क्षेत्र, नालाभेग, पाँचखाल, मण्डनदेउपुर क्षेत्र, बनेपा, पनौती, धुलिखेल क्षेत्रमा धान खेति हुने गरेको छ । एकातिर चैतमा रोपेको धान साउनसम्म भित्र्याउने र त्यही ठाउँमा फेरि धान रोप्ने चलन जिल्लाका केही भागमा छ । जहाँ सिचाईको सुविधा छ । काभ्रे जिल्लामा कुल ११ हजार ३५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको बताएपनि पछिल्लो समयमा जिल्लाको धान खेतीयोग्य जमिनहरुमा बढ्दो सहरीकरणका कारण अब्यवस्थित बस्ति विस्तार, प्लटिङ, उद्योगधन्दा कलकारखानाहरु सञ्चालनमा ल्याउनु र विशेषगरी खेती गर्ने जनशक्ति विदेशीने गरेका कारण धान खेती र उत्पादनमा कमि हुँदै आएको किसानहरु को भनाई छ । यो काममा किसानहरु व्यस्त भइरहँदा गतवर्षहरुजस्तै किसानलाई रासायनिक मल, विउ विजनको सर्टेजको समस्या भने झन बिकराल बनेको छ ।
प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको प्रादेशिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । रोपाइँ भएका धानका लागि रासायनिक मल समेत अभाव भएको किसानको गुनासो छ । एकातिर पानी नपर्नु र अर्कातिर मलको अभावले किसान समस्यामा परेका हुन् ।
मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलकाअनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम धादिङ जिल्लामा धान रोपाइँ भएको छ । काठमाडौँमा ८०, धादिङमा ११, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा ७० प्रतिशत तथा चितवनमा ४० प्रतिशत धान रोपाइँ भएको छ । सिन्धुली जिल्लामा ४५, काभ्रेमा ६५, सिन्धुपाल्चोकमा ४२, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको उक्त मन्त्रालयले जनाएको छ । यस प्रदेशमा खेतीयोग्य जमिन एक लाख २० हजार ५०० हेक्टर रहेकामा ९० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।