धुलिखेल, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी दिनमा सार्वजनिक यातायातमा बिद्युतिय भुक्तानी प्रणाली लागू गरिने र यात्रु ठगिनबाट जोगिने, व्यवसायीलाई पनि घाटा नहुने, सवारी चालक र सहचालक पनि मर्का नपर्ने व्यवस्था शुरु गर्न लागेको बताएका छन ।
जिल्ला समन्वय समिति काभ्रेको छैठौ जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले बागमती प्रदेशमा मन्त्रालय फुटाएर धेरै बनाईएको भन्ने आलोचना भयो । तर, राम्रो काम भएको भन्दै आगामी दिनमा तेह्रलाख जनताले सवारी साधन लाइसेन्स पाउन अप्ठ्यारो भोग्नु पर्ने दिनको अन्त्य भएको जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रदेशलाई अधिकार दिन नखोजेको आरोप लगाए । सबै अधिकार आफू मातहत ल्याएर केपीजी तानाशाह बन्न खोज्नुभएको थियो । शेरबहादुर देउवा आएपछि त हुनुपर्ने जस्तो लागेको थियो तर भएन नि,’ पाण्डेले भने, ‘देउवा आएको १० महिनासम्म पनि अधिकार विकेन्द्रित गर्न केही सुधार भएन ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाले स्थानीय तहको अधिकार कटौती गर्ने चलखेल भएको भन्दै यसमा गम्भीर हुन आग्रह गरे । प्रदेश र संघ सरकारले स्थानीय तहको अधिकार कटौती गर्न खोजेको भन्दै त्यसो नगर्न चेतावनी दिए ।
खानीखोला गाउँपालिका प्रमुख इन्द्रबहादुर थिङले प्रदेश र संघिय सरकारले कनिका छरेजस्तै बजेट काभ्रेलाई दिएको भन्दै गुनासो गरे । जिल्लाकै दुर्गम पालिका खानिखोलामा सडकको समस्या रहेको बताउदै यसमा प्रदेश सरकारले बजेट नछुट्याएको भन्दै आक्रोश ब्यक्त गरे ।
कार्यक्रममा सांसद गंगाबहादुर दोङ, नवीना लामा, पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ, संविधान सभा सदस्य तिर्थ लामा, संविधासभा सदस्य रामहरी सुवेदी, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाल, जिल्ला समन्वय समिति काभ्रेका निवर्तमान प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतले मन्तब्य राखेका थिए ।
छैठौं जिल्ला सभामा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले प्रस्तुत गरेकोे आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित भएको छ ।