मतदाता नामावलीमा केहि त्रुटी भए भाद्र १३–१५ मा सच्याउनुस्


बनेपा, जिल्ला निर्वाचन कार्यालयले काभ्रे जिल्लामा रहेका मतदाताहरुको नामावलीको त्रुटी सच्याउन, दोहोरो हेर्न तथा मृतकका नामहरु हटाउनको लागि भाद्र १३ देखि १५ गतेसम्म आह्वान गरेको छ ।

मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली भरेर विग्रेकालाई सच्याउने, दोहोरो भएकालाई हटाउने तथा मृतकका नामहरु हटाउन दावी विरोध गर्ने गरी भाद्र १३ देखि १५ गते सम्म निर्वाचन कार्यालय, सम्बन्धित पालिका र वडामा उजुरी गर्न भनिएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत भाद्र १३ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा नमावली हेर्ने, त्रुटि सच्याउने, दोहोरो हटाउने, मृत्यु भएका ब्यक्तिका नाम हटाउने र दावी विरोध गर्न पाईने जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए ।
संसदीय निर्वाचनमा २०७९ साउन १९ गतेसम्म मतदाता नामावलीमा दर्ता भएका मसिंर ३ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरुले मतदानमा भाग लिन पाउनेछन् । जस अनुसार प्रतिनिधि सभा १ को क निर्वाचन क्षेत्रमा ७७ हजार २ सय ९९, ख निर्वाचन क्षेत्रमा ७७ हजार १ सय २४ मतदाता गरि १ लाख ५४ हजार ४ सय २३ मतदाता रहेका छन् । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को क मा ७७ हजार ६ सय ३१ मतदाता र ख निर्वाचन क्षेत्रमा ८१ हजार १ सय ८८ गरी १ लाख ५८ हजार ७ सय ५४ मतदाता रहेका छन् । जिल्लागत हिसावका १ लाख ५९ हजार ४ सय ३ पुरुष र १ लाख ५३ हजार ७ सय ७२ महिला गरी ३ लाख १३ हजार १ सय ७७ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा ३ लाख ३ हजार ५ सय ६० मतदातामा ९ हजार ६ सय १७ मतदाता थपिएका छन् । थपिएका समेत गरेर दुबै निर्वाचन क्षेत्रमा मसिंर ३ गतेसम्म ३ लाख १३ हजार १ सय ७७ मतदाता १८ वर्ष पुगेका हुनेछन् । मतदाता नामावली भाद्र १२ गते वडा कार्यालय, निर्वाचन आयोगको कार्यालय र वेभसाईटमा नामावली प्रकाशन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *