बनेपा, आसन्न मङ्सिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि काभ्रे जिल्लामा रहेका दलहरु उम्मेदवार सिफारिसमा व्यस्त भएका छन् । केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगतरूपमा उम्मेदवार सिरफारिस सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेका छन् ।
हिजो मात्रै प्रतिनिधिसभा निर्वाचन काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेबाट गोकुलप्रसाद बाँस्कोटा पुनः सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
नेकपा एमाले काभ्रे क्षेत्र नं २ को आइतबार बसेको बैठकले प्रतिनिधिसभाका लागि बाँस्कोटाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । त्यस्तै काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा भने आईतबार भएको बैठकमा सर्वसम्वत हुन नसके पछि ६ जनाको नाम सिफारिस भएको छ । जसमा रेशम लामा, नविना लामा, चन्द्र लामा, नारायण पाण्डे, अम्बुभवानी कार्की र कुलचन्द्र अधिकारी रहेका छन । प्रदेश सभाका ४ क्षेत्रमा भने यसअघि नै नाम सिफारिस भएका छन । जुन नामहरुका बिषयमा आज सोमबार बस्ने जिल्ला कमिटी बैठकले छलफल गर्ने एमाले काभ्र्रेले जनाएको छ ।
जिल्लामा यसअधि नै नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले ती निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएका छन् । यस्तै नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस जारी राखेको छ । यद्यपी गठबन्धनका दलहरुमा कस्ले कुन क्षेत्र पाउने टुङगो भने लागेको छैन ।
एमाले काभे्रले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’मा पार्टीको क्षेत्रीय कमिटीले गोमा भुर्तेल, चुडामणि गौतम, हिरामान लामा, जेनिस लामा, सत्यमान लामा, नरध्वज तामाङ, उपेन्द्र घिसिङ, रेशम चौलागाईँ, ठाकुर बाँस्कोटा, नारायण गौतम, गणेश लामा, नारायण गौतम (केशरी), प्रकाश गौतम र योगेन्द्र लामाको नाम सिफारिस गरेको छ ।
यस क्षेत्रको प्रदेशसभा ‘ख’मा चन्द्र लामा, विदुर हुमागाईँ, केशव बडाल, अमित लामा, राकेश लामा, टुल्कु लामा, गणेश थापा, कृष्ण खुलाल, सुदर्शन थापा, कान्छामान लामा, मधुसुदन पौडेल र शान्ता न्यौपानेलाई सिफारिस गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ‘क’मा गुमानध्वज कुँवर, कुमार खकुरेल, विमला शर्मा, टीकावल्लभ सापकोटा र राजकुमार श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिएको छ । यस्तै यो क्षेत्रको प्रदेशसभा ‘ख’मा किशोर थापा, नवराज बजगाई, कुमार थापा, रामशरण दाहाल, आत्माराम थापा, माधुरी सापकोटा र केदार सापकोटालाई सिफारिस गरेको छ । समानुपातिक भने आज सोमबार बस्ने जिल्ला कमिटी बैठकले तय गर्ने छ ।
त्यसैगरी नेपाली कांगे्रसकोे प्रतिनिधिसभा क्षेत्र न १ का लागि पार्टीका सभापति तीर्थ लामा सर्वसम्मत उम्मेदवार चयन हुनुभएको छ । यस क्षेत्रमा सामनुपातिकतर्फ भने १३ जनाको नाम सिफारिस भएको छ ।
जसमा प्रतिनिधिसभा–१ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ गुणराज मुक्तान, राम योञ्जन, सिबी लामा, दिनेश भुर्तेल र रविन गौतमको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने १४ जनाको नाम सिफारिस भएको जनाइएको छ । यसै क्षेत्रको प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ रवीन्द्रनाथ सिग्देल, तीर्थबहादुर पसखल, गणेश लामा, सार्कीमान बल, सञ्जय लामा, ईश्वरीप्रसाद ओझा र सुमनराज पाण्डेको नाम सिफारिस भएको छ । उक्त प्रदेशसभामा सदस्यका लागि समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ प्रत्यक्षतर्फ मधुप्रसाद आचार्य, शिवप्रसाद हुमागाईँ, ठाकुरप्रसाद न्यौपाने, अच्युतप्रसाद पौडेल र रामजी पन्तको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ २५ जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ सुन्दरमणि आचार्य र होमप्रसाद चौलागाईँको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ २२ को नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ कन्चनचन्द्र बादे श्रेष्ठ, माधवप्रसाद ढकाल, कृष्णगोपाल भैल, उद्धवप्रसाद नेपाल र ईश्वरी बादेको नाम सिफारिस भएको छ । यो क्षेत्रमा समानुपातिकतर्फ १८ को नाम सिफारिस भएको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कान्छा तामाङ, समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटाको नाम सिफारिस गरेकोे छ भने समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । यस क्षेत्रको प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ मुकुन्दप्रसाद गौतमलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस भएको जनाइएको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा, पुस्करप्रसाद तिमल्सिना र सञ्जिता लामाको नाम सिरफारिस गरिएको छ भने समानुपातिकतर्फ चार जनाको नाम छ ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ विदुरप्रसाद सापकोटा तथा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ लक्ष्मण लम्सालको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ तीन जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ वसुन्धरा हुमागाईँको नाम सिफारिस भएकोे छ । पार्टीको क्षेत्रीय समितिले समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) काभ्रेले भने पालिका स्तरबाट सिफारिस शुरु गरेपनि टुङ्गो भने लगाएको छैन ।