दशैं हामी नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो । खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिन दशैका मुख्य दिन हुन् । त्रेता युगमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशौं दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नाम दिइएको पनि भनिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा पनि हेरिन्छ । दशै जहाँ जसका नामले मनाए पनि हर्ष एवं उल्लास तथा विजयको पर्व हो ।
चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ्न। हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ। त्यस मध्ये पनि दशै सबैभन्दा ठूलो र महत्वपूर्ण मानिन्छ । यो चाडमा देश बिदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण सिर्जना हुन्छ । दशै पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । यसको बेग्लै मज्जा छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई अझ छुट्टै रमाइलोको अनुभुती हुन्छ ।
बास्तवमा दश दिन मनाइने हुनाले पनि यो हिन्दुहरुको महान पर्वलाई दशैं भनेको होला । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा टाढा देखि आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आश्रीवाद लिने दिने गरिन्छ ।
वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश –भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ। यस दिन सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।
नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली –भद्रकालीको विशेष पूजा–आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी–शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ। पूजापश्चात् मानिसहरू नवदुर्गा ,आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छ्न्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।
नवरात्रिको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा–आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ। नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणहरुको त्याग गर्दै आएकोमा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै बलि चढाउँने चलन आएको मानिन्छ । नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ । आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ । यो दशैंको खास दिन हो ।
यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको भनाई छ । यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जलि गर्ने गरिन्छ ।यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ । त्यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। त्यसपछि घरका मुलमान्छेले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा गहना लगाई टीका लगाउन जान्छन्। जसको लर्को तथा भिड भाड यत्र तत्र बाटोमा या बसमा प्रशस्तै देख्न सकिन्छ। यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत रहेको छ ।
दशैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन। यीनिहरुको विशिष्ट अर्थ र महत्व पनि छ भन्ने गरिन्छ ।
दशैंमा अक्सर आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो ।
दशैंमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टिका थापिन्छ। यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ । टिका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धी, स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने बिश्वास गरिन्छ। आफ्नो घरमा टीका लगाएर आफन्तजनहरुकोमा पनि टीका ग्रहण गर्ने चलन छ। टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ ।
दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि र मन्त्र छ।अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।
हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पुर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो। भारतीय चिकित्सकहरुले पनि जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई सांकेतिक रुपमा विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ ।
दशैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन; वा द्रब्य नै दक्षिणा हो।बिजयदशमीको दिन आ– आफ्नो गच्छे अनुसार मान्यजनबाट टीका लगाइसकेपछी दक्षिणा दिने गरिन्छ । सुख,शान्ती ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम बिश्वास छ । र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।
बास्तबमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम को काल थियो । त्यहिबाट दशैंको शुरुवात भयो । बडादशैं सनातन परम्परा, संस्कार –संस्कृति, धर्म, आस्था र बिश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको बैज्ञानिक महत्वको बिषय पनि रहेको पुष्टि भएको छ। यो समाजबिज्ञान,मनोबिज्ञान र ब्यवहार बिज्ञानसँग निकट रहेको छ ।
यो पर्व आडम्बरी, खोक्रो, मूल्यहिन हुँदै होइन्।कतिपय यसको खैरो खन्न पनि लागेको पाइन्छ।तर कुरो त्यस्तो होइन । यो धार्मिक,सामाजिक सांस्कृतिक र बैज्ञानिक महत्व र मूल्यको पर्व हो । तर पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर,यथार्थ विधि पद्धति अनुसार निष्ठावान तरिकाले मनाउँनुपर्छ भन्ने कुराको हामी सबैले हेका होस् । किनकी साधना नगरी फल त्यसै पाइन्न । यस तर्फ सबैको ध्यान जाओस। साथै पर्व मनाउँदा घाँटी हेरी हाड निल्यौँ भन्ने हाम्रो महत्त्वपूर्ण नेपाली उखानलाई अनुसरण गरौँ । आफूसँग जे छ त्यसमा सन्तुष्टि मान्दै हाम्रा चाडपर्व मनाउन लागौं ।