बनेपा, आज शहिद दिवस–देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासन विरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्ड्याएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी राणाहरूले हत्या गरेका थिए । उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । यी शहिदहरुलाई मसिनो हैन बाक्लो अनि जोडदार स्वरमा सम्झनागर्न जरुरी छ, शहिद गेटमा रहेको शहिदहरुको प्रतिमा देखि गंगालाल हृदयरोग प्रतिष्टान लगायत शहिदका नाममा गठन गरिएका विभिन्न परोपकारी सँस्थाहरुले, हुलाक टिकटहरु अनि सरकारी कार्यलयमा झुन्ड्याईएका तस्वीरहरु, शहिदहरुको नाममा बनाईएका बाटाघाटाहरु लगायतले शहिदको महत्व हामीलाई बुझाईरहेका छन् ।
पछिल्लो समयमा नेपाली राजनैतिक पृष्ठपोषकहरुले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरुप शहिदहरु तोक्ने अनि खुद्रारुपमै शहिदहरुको फेरिहिस्त तैयार गरिदिएकोमा धेरै जनगुनासोहरु सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिक्ताको अनुपम अट्टाहसमा मुस्कुराईरहेका हरेक नेपाली अनुहारमा शहिदहरुको अनुहार मुस्कुराईरहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबै तिर शहिदको रगतको रङ्गहरु माटामा मिसिएका छन्, नेपाली आकाशमा उनिहरुको सपना छ अनि नेपाली प्रजातन्त्रीक अभ्यासमा शहिदहरुको निस्वार्थ वलिदान अतुलनीय छ । त्यसैले माला र अविरका विच शहिदका तस्वीर खोज्न र राख्न भन्दा शहिदलाई मुटुभित्र राखौ, देशलाई सदैव माया गरौ । शहिद दिवसको शुभकामना ।