बनेपा, प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा हिजो भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ ।
आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको जानकारी दिए ।
स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी समेत गरिसकेका छन् । आयोगका अनुसार बारा–२ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन–२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ–१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी आयोगको रहेको छ ।
बारामा साँझ नै मतपेटिका संकलन भइसकेको छ भने चितवनमा १० र तनहुँमा राति ११ बजेभित्र मतपेटिका संकलन भइसक्ने अनुमान गरिए पनि यो समाचार तयार पार्दा सम्म मतपेटिका संकलन भैसकेको थिएन ।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ ।