विद्यार्थीका लागि काभ्रे सेवा समाजको उत्प्रेरणा


पनौती, १०+२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि अब कुन क्षेत्रलाई आफ्नो पेशा व्यवसाय बनाउने र त्यसका लागि के कस्तो सूचना र तयारी आवश्यक छ भन्ने जानकारी प्रदान गर्न काभ्रे सेवा समाजको आयोजनामा इन्द्रेश्वर क्याम्पस पनौतिमा उत्प्रेरणा तथा जीवनवृत्ति सम्बन्धि सुझाव सल्लाहको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख श्रीकुमार सुवालले यस्ता कार्यक्रमले कलेजका विद्यार्थीहरुलाई आफ्नो रुची र योग्यता क्षमताको पहिचान गर्न सहयोग पुग्ने र कुन क्षेत्रमा जाँदा आफ्नो भविश्य उज्जवल हुने भन्ने निर्णय लिन सहयोग पुग्ने विश्वास लिएको बिचार व्यक्त गर्नु भयो । यसैगरी संविधान सभा सदस्य रामहरी सुवेदीले विदेशमा पुगेर कष्ट भोग्ने र धेरै पैसा आर्जन गर्ने सपना पाल्नुभन्दा नेपालमै रहेर नेपालकै लागि केहि गर्ने सोंच बनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा विषय विज्ञका रुपमा डिफेन्स करियर एकेडेमी थापाथली काठमाडौको तर्फबाट उक्त संस्थाका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्तबहादुर श्रेष्ठले नेपाल सरकारको सुरक्षा निकायमा सेवा प्रवेश गरेर घर परिवार समाज र देशकालागि योगदान गर्न आग्रह गर्नुका साथै लगन परिश्रम र धैर्यता रहेमा र आफ्नो क्षमता सीप र रुची अनुसारको सेवा वा व्यवसाय छनौट गर्न सकेमा सफल हुन सकिने बताउँदै नेपाली सेना, प्रहरीसेवा, सशस्त्र प्रहरी सेवा र राष्ट्रिय अनुसन्धान जस्ता सुरक्षा निकायमा प्रवेश गर्न योग्य र इच्छुक युवाहरुलाई पूर्व तयारी अध्ययनको अवसर दिलाउने जानकारी दिनुभयो ।
सो कार्यक्रममा निजामति सेवा विज्ञ प्रदिपराज कणेलले लोकसेवा के हो र यसबाट आफ्नो भविश्य निर्धारणका लागि के के अवसर प्राप्त हुन्छ भन्ने बारेमा बोल्दै लोकसेवाका बहुआयामिक क्षेत्रको जानकारी गराउनु भयो । यसै कार्यक्रमा डिफेन्स करियर एकेडेमीका तर्फबाट पूर्व महासेनानी सूर्य अधिकारीले सेना के हो ? सेनामा सेवा गर्नाले आर्थिक सामाजिक र समृद्धिका पक्षमा आफु आफ्नो परिवारलाई के सुबिधा प्राप्त हुन्छ र राष्ट्रले के पाउँछ भन्ने बारेमा जानकारी दिंदै नेपाली सेनामा सेवा प्रवेशका लागि सल्लाह दिनु भयो । कार्यक्रममा डिफेन्स करियर एकेडेमीका तर्फबाट पूर्व प्रहरी नायव उपरीक्षक हिरा गिरीले सेवा प्रवेशका लागि आवश्यक न्यूनतम योग्यता र छनौट प्रकृयाका बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रमको अन्त्यमा काभ्रे सेवा समाजका तर्फबाट अध्यक्ष प्रल्हाद के.सीले काभ्रेका नवयुवाहरुलाई नेपाल भित्र नै के कस्ता अवसर छन् र त्यसको प्राप्ती कसरी गर्न सकिन्छ भन्ने पर्याप्त जानकारी होस् र काभ्रेका युवाहरु राष्ट्र सेवामा लाग्न मद्दत मिलोस् भन्ने उद्येश्यका साथ काभ्रे जिल्ला भित्रका विभिन्न कलेज तथा क्याम्पसका विद्यार्थीहरुलाई सहभागी गराई यस किसिमको अभिप्रेरणा दिने कोशिस गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा काभ्रे सेवा समाजका उपाध्यक्ष पूर्व प्रहरी नायव महानिरीक्षक पूर्णसिंह खड्का, सञ्चारकर्मी, क्याम्पसका अन्य प्राध्यापक तथा विद्यार्थीहरुको समेत उल्लेखनीय उपस्थिति रहेको काभ्रे सेवा समाजका कार्यकारी सदस्य इ. राम कुमार बस्नेतले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *