बनेपा, बिशेषगरी चैत्र, बैशाख र जेठ हावाहुरी र आगलागीका घटना बढी हुने समय हो । अधिल्लो हप्ता पानि परेकाले आगलागीका घट्ना कम भएको भएपनि अहिले फेरी आगलागीका घट्ना शुरु भएका छन ।
आगलागीका लागि ठूलो कारण चाहिन्न । सानो लापरवाही वा सानो भवितव्य नै ठूलो क्षतिको कारण बन्छ । एक झिल्को आगोले बहुमुल्य चिजबीज क्षणभरमै खरानी तुल्याइदिन्छ । जुन यो समय सँगै शुरु भैसकेको छ । देशभर जस्तै हावा हुरीका कारण काभ्रेमा पनि आगलागीका घटना घट्नथालेका छन । आगलागी आगोको कारणले मात्र नभएर अन्य विभिन्न कारणले हुने गर्छ । चैत, वैशाख र जेठ महिनामा सबैभन्दा बढी आगलागीका घटनाहरु हुने गरेको पाइएको छ । बिजुलीको तार सर्ट हुनु, भान्सबाट उत्पन्न आगो, एक स्थानमा बालेको आगो अन्यत्र सल्किन पुग्नु, सलाई, लाइटरको लापरवाहीपूर्ण प्रयोग, लामखुट्टे धपाउन भुस बाल्नु, सवारी साधनमा अचानक आगो लाग्नु, थे्रसरबाट गहुँ झार्ने क्रममा अचानक आगो लाग्नुलगायत विभिन्न कारणबाट हुने आगलागीका कारण ठूलो जनधनको क्षति हुने गरेको पाइन्छ ।
हाम्रो वरपरका वनजंगलमा हुने आगलागी पनि ठूलोक्षतिको कारण बन्न पुग्छन् । आगजनी फैलिएर हाम्रो घरतिरै आइपुग्छ । मानवीय त्रुटि तथा नयाँ घाँस पलाउने आशामा नियतवश भएका आगलागीले जिल्लाका धेरै ठाउँमा क्षति पु¥याएको छ विशेषतः घर वा वन हाम्रै साना असावधानीले आगलागी हुने गरेका थुप्रै उदाहरण छन् । गर्मी मात्रै हैन, पानी नपर्ने सुख्खा मौसममा पनि नेपालका पहाड तथा मधेसमा आगलागीका घटनाबाट धनजनको ठुलो क्षति हुने नियति जस्तै बनेको छ । हिउँदको समयमा गर्मीका लागि प्रयोग गरिने हिटर प्रयोग गर्दाको असावधानीले आगलागी भएका घटना पनि प्रशस्तै छन् । एक आँकडा अनुसार ग्रामिण तथा शहरी क्षेत्रमा हुने आगलागीबाट नेपालमा वर्षेनी सरदर ३० जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने अर्बौं रुपैयाँ बराबरको प्रत्यक्ष क्षति पुग्ने गरेको छ । चट्याङ्ग वा यस्तै प्राकृतिक प्रकोपहरुबाट हुने आगलागीका घटनाहरु बाहेक आगलागी एक पूर्णतः मानवीय कारणबाट हुने प्रकोप हो । त्यसैले यसको रोकथाम सम्भव छ । मधेस तथा पहाडमा पखर घाँसको छाना भएका घर बस्तीहरु र सहरका घरहरु आगलागीबाट बढी जोखिममा छन् ।
आगोको स्रोतको होशीयारीपूर्वक प्रयोग गर्ने र परिवार तथा गाउँका सबै सदस्यहरुमा जनचेतना जगाउन सकेमा यसको क्षतिबाट मानिस तथा सम्पत्ति जोगाउन सकिन्छ । बालबालिकाहरुलाई जथाभावी आगो खेलाउन नदिएमा, चुरोटको ठुटो जथाभावी नफालेमा, बनभोज पछि होशियारीपूर्वक आगो निभाएमा, घरमा खाना बनाउँदा खाना खाइसकेपछि आगो राम्रोसँग निभाएमा, बिजुली सट हुनबाट जोगाउनपूर्व तयारी गरेमा, वनजंगलमा आगलागी पछि घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाएमा र अन्य प्रज्वलनशिल पदार्थको प्रयोगमा होशियारी गरेमा घर, गाउँ बस्ती र शहरहरुमा हुने आगलागी रोकथाम गर्न सकिन्छ ।
घर वा कुनै भवनमा आगलागी भैहालेमा सबैभन्दा सुरक्षित स्थल भनेको घर वा भवन बाहिर निस्कनु नै हो । आगलागीको बेला तपाईं घर भित्र हुनुहुन्छ भने तपाईंको पहिलो प्राथमिकता घर बाहिर निस्कनु नै हो । ढोका बन्द छ र खोल्न सम्भव छैन र भ¥याङ्गप्रयोग गर्नु जोखिम रहेको अवस्थामा भ्याल वा वाल्कोनीमा पुग्न प्रयास गर्ने । भ्याल खोल्नुस । बालकोनी भए त्यहाँगई भ्याल बन्द गरिहाल्नुस् ताकि धुँवा घरभित्र जान नपाओस् ।
तपाईं पहिलो तल्लामा भए सिमेन्ट लगाएको ठाउँ इनार आदिलाई छलेर सुरक्षित ठाउँमा हामफाल्नुस् । घर भित्र बलियो डोरी भए तल झर्न यसको प्रयोग गर्न सकिन्छ । झ्याल फोर्नु पर्ने अवस्थामा फर्निचर वा अन्य काठहरु प्रयोग गर्नुस्, सकेसम्म हात प्रयोग नगर्नुस् । तल झर्ने कुनै उपाय नभए ढोका बन्दगर्नुस् भ्यालखोलीकुनै रंगीन कपडा हल्लाएर सहयोग माग्नुहोस । बालकोनी भए झ्याल र ढोकाबन्द गर्नुहोस् र नअताल्लिनुहोस् ।
लगाएको कपडामा आगो सल्किएरपनि धेरैको ज्यान जाने गरेको छ । तत्काल कपडामा लागेको ज्वाला निभाउन वा कमगर्न उपलब्धि गर्ने दुवै हात तत्काल ज्वालामुखमा पर्न नदिने । भुँईमा लडिवृडि खेली ज्वालानिभाउन प्रयत्नगर्ने, प्रभावित व्यक्तिको टाँसिएको कपडालाई फुत्काउने प्रयत्नगर्नु भन्दा तत्काल, अस्पताल लग्नु उत्तम हुन्छ । विपत्तिको समयमा परिस्थितिलाई राम्ररी विश्लेषण गरेर छिटो निर्णय लिनुपर्दछ । तर कुनै पनि अवस्थामा आत्तिनु हुँदैन । तसर्थ यी क्षेत्रका हरेक घरपरिवारले आगलागीको सामनागर्न पूर्वतयारी गर्नु बुद्धिमता हुन जान्छ ।
सम्भवभए घरमा अग्नी नियन्त्रण यन्त्र राख्ने सो नभएमा आगलागीबाट बच्न घर परिवार तथा छिमेकमा सल्लाह गर्ने, सुरक्षित स्थान तथा त्यस तर्फ जानको बाटो तय गर्ने, अकस्मात आगलागी भएमा के गर्ने भन्ने सम्बन्धमा प्रत्येक घर तथा गाउँको योजना तयार पारी त्यसको लागि अध्ययन गर्ने । घरमा आपतकालीन अवस्थामा प्रयोग गर्नु पर्ने दमकल, प्रहरी, छिमेकी, स्थानीय निकायका फोन नम्बरहरु घरको भित्ता वा मोवाइल नम्बरहरु राखिराख्ने ताकि विपद्को बेला तत्काल प्रयोग गर्न सकियोस । दमकल तथा प्रहरीलाई फोन गर्दा तपाईंको घर वा क्षेत्रको स्पष्ट ठेगाना दिनु पर्छ,जसबाट समयमै सेवा प्राप्तगर्न सकिन्छ । तपाईंका बहुमुल्य सामानहरु घर भित्र छुटेका छन् भनेपनि कुनै पनि हालतमा जलिरहेको घर भित्र नर्छिनुहोला । आपतको बेला सामानलाई भन्दा जिउज्यान जोगाउन ध्यानदिनु पर्छ ।