आज यस वर्षको साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् ।
साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । त्यसैले देशभर शिवको पूजा आराधना गरि अन्तिम सोमबार मनाइँदै छ । काठमाडौंको पशुपतिनाथमा खास गरि बोलबम तीर्थालुहरुले सुन्दरीजलबाट ल्याएको जल चढाउने गर्दछन् भने महिलाहरुले सोमबारको पुजा आजा गर्ने गर्दछन् ।
बनेपाको धनेश्वर, पनौतीको लड्केश्वर, आशापुरी, काठमाडौं उपत्यकाका पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, गुल्मीको रेसुङ्गा, पाल्पाको सिद्धबाबा, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्यादिको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट सहित देशैभरका शिव मन्दिरहरुमा आज भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । आज महिलाले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी हिन्दुधर्म आनुसारका बस्त्र लागाएर शिवको ब्रत बस्ने गर्दछन । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् भन्ने मान्यता रहेको छ । सोमबारको व्रतमा बिहानको सुर्योदयअघि नै स्नान र सन्ध्यापछि व्रतको संकल्प गर्नुपर्छ । साँझ सुर्यास्त भएपछि करिब एक घन्टा अर्थात् दुई घडीसम्म शिवपूजा गरिन्छ । यस्तो व्रत बस्दा धेरै फाइदा हुन्छ । निराहार व्रत बस्नाले अजीर्ण, टाउको दुख्ने, ज्वरो आउने समस्याबाट मुक्ति हुने कुरा धर्मग्रन्थहरुमा उल्लेख छ । व्रतमा अन्न खानुहुँदैन । दाल खानुहुँदैन भन्ने चलन छ । यसलाई पालन गर्नुपर्छ । सकेसम्म फलाहार गर्नुपर्छ । साउन महिनामा तोरी, मूला तथा पालुगोको साग खान निषेध गरिएको छ । शिवको पूजा, आराधना एवं ध्यान हिन्दू समाजमा परम्परादेखि चल्दै आएको चलन हो ।