भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यपार प्रवर्द्धनको निम्ति भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । विजया दशमीको अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्टको व्यवस्थापनमा मेला हुन लागेको हो ।
सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि. को व्यवस्थापनमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुल्ला मैदानमा २०८१ आश्विन ९ गतेदेखि १९ गतेसम्म हुन लागेको हो । महोत्सव तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्वका स्थानहरुको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउदै यहाँका स्थानीय उत्पादनहरु लगायत राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका उत्पादनहरुको बजारीकरणमा विशेष टेवा पुरÞ्याउने उद्देश्यले महोत्सवको रहेको जनाएको छ ।
पत्रकार सम्मेलनका आयोजक भक्तपुर चेम्वरका अध्यक्ष कविदास श्रेष्ठले भक्तपुर जिल्ला ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवं पर्यटकिय स्थानहरुले भरिभराउ क्षेत्र भएको शिक्षा, स्वास्थ्य, यातायात र व्यवस्थित बस्ती विकासमा भक्तपुर जिल्ला क्रमश अगाडि बढदै गरेको बताए । मेला संयोजक माधवप्रसाद प्रजापतिले महोत्सवमा विविध उत्पादन तथा सेवाहरुको अलग अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको जनाए ।
महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, विउविजन तया मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तया निर्माण सामाग्री, बैंक तथा वित्तिय संस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी १५० भन्दा बढी स्टलहरु रहने छन् । महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, डागन रेल, नाउ, बोटिङ, बाटर बल्ब, मिकि माउस, ट्रैम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइयो ।
महोत्सवमा राखिने बस्तुहरुको प्रकृत्तिका आधारमा स्टलको साइज र शुल्क फरक हुने व्यवस्थापक संगम लामाले बताए । स्थानीय उत्पादनहरुका लागि न्यून स्टलभाडा रहने छ भने आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क हुने उनले जनाए । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु. ७० र विद्यार्थीहरुलाई रु. ५० को टिकट लाग्ने जनाइएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । निवर्तमान अध्यक्ष न्हुछें मानन्धरको पनि उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भक्तपुर चेम्वर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यले गरेका थिए ।