आज श्रावणको पहिलो सोमबार-यस्तो छ व्रतको महत्व–तारा बजगाई


श्रावण महिनाको पहिलो सोमबार आज, नेपालीहरुमा श्रावण महिना र सोमबारको विशेष महत्व रहेको पाइन्छ । विशेष गरी नेपाली महिलाहरु पूजा गर्नु एवं व्रत बस्नुलाई आफ्नो नियमित कर्तव्य मान्छन् । यस्ता विभिन्न धार्मिक कार्यमध्ये साउन महिनाको सोमबारे व्रत पनि प्रमुख हो ।
नेपालीहरु स्वभावैले धर्मपरायण छन् । सामान्यतया भोजन नगरी निराहार बस्नुलाई नै व्रत भनिन्छ । यसको धार्मिक मात्र नभएर वैज्ञानिक महत्व पनि छ । व्रत वा उपवासले स्वास्थ्यमा समेत सकरात्मक असर पार्छ । त्यसैले दीर्घ जीवन प्राप्तिका लागि महत्वपूर्ण सहयोग गर्छ । हाम्रा धार्मिक ग्रन्थहरुमा व्रतका विभिन्न विधान उल्लेख छन्, जसमा नियमको पालना गरी श्रद्धाले पूजा–अर्चनाका साथै कथा श्रवण गरिन्छ । शास्त्रमा विभिन्न व्रतलाई विभिन्न प्रकारले विभाजन गर्दै सबैका विधि विधान उल्लेख गरिएको छ । तिथि व्रत, बार व्रत, स–व्रत, नक्षत्र व्रत आदि व्रतका विशेषता एवं नियम उल्लेख छन् । यी व्रतलाई ध्यान दिएर अध्ययन गर्ने हो भने सबैको उद्देश्य एउटै छ । आफ्नो मनलाई पवित्र पारेर इन्द्रियहरुलाई नियन्त्रणमा राख्नु ।
गीतामा व्रतका सम्बन्धमा उल्लेख गरिएको श्लोक यस्तो छः
विषयमा विनिवर्तन्ते निराहारस्य देहिः ।
राजवर्ज रसोप्यस्व परं दृष्टवा निवर्तते ।।
निराहार बस्नाले मानिस विष निवृत्त हुन्छ । साउनको व्रतलाई मास व्रत पनि भनिन्छ भने यसलाई बार व्रत पनि भनिन्छ । साउन महिनाभरि व्रत बस्नु शुभ मानिन्छ । महिनाभरि सम्भव नभए शिवको प्रिय दिन सोमबार ब्रत बस्नु उपयुक्त हुने शिवपुराणमा उल्लेख छ । धार्मिक मान्यताअनुसार सोमबार शिवको ध्यान गर्नाले आफूले चिताएको कुरा पुग्छ । अन्य व्रतमा फलाहार गर्न मिल्छ भने शिवको व्रत निराहार बस्नुपर्छ ।
सोमबारको व्रतमा बिहानको सुर्योदयअघि नै स्नान र सन्ध्यापछि व्रतका संकल्प गर्नुपर्छ । साँझ सुर्यास्त भएपछि करिब एक घन्टा अर्थात दुई घडीसम्म शिवपूजा गरिन्छ । यस्तो व्रत बस्दा धेरै फाइदा हुन्छ । निराहार व्रत बस्नाले अजीर्ण, टाउको दुख्ने, ज्वरो आउने समस्याबाट मुक्ति हुने धर्मग्रन्थहरुमा उल्लेख छ । व्रतमा अन्न खानुहुँदैन । सिधै नुन मात्र प्रयोग गर्नुपर्छ, नुन अशुद्ध होइन । पहिले नुन गैर हिन्दुले तिब्बतबाट बोकेर ल्याउने हुनाले व्रतमा नुन खानु हुँदैन भन्ने नियम बसेको अनुमान गर्न सकिन्छ । अहिले प्याकेट बन्द नुन उपलब्ध हुन थालेपछि कतिपयले यसलाई चोखो मानेर खान थालेको पाइन्छ । यस अर्थमा अहिले व्रतमा नुन खानु नखानु आफ्नो विवेकमा भर पर्ने कुरा भएको छ । व्रतमा दाल खानुहुँदैन भन्ने चलन छ । यसलाई पालन गर्नुपर्छ । सकेसम्म फलाहार गर्नुपर्छ । साउन महिनामा तोरी, मूला तथा पालुगोको साग खान निषेध गरिएको छ । शिवको पूजा, आराधना एवं ध्यान हिन्दू समाजमा परम्परादेखि चल्दै आएको चलन हो । साउन महिनाको सोमबार पशुपति लगायतका शिव मन्दिरहरुमा हजारौं महिला लामो लाइनमा बसेर शिवभक्ति प्रकट गर्छन् जुन हाम्रो सांस्कृतिक परिचय पनि भएको छ ।

पाशुपत क्षेत्रमा हिमवत्खण्ड माहात्म्य र शिवपुराण जारी
काठमाडौं÷श्रावण १ गतेबाट पाशुपत क्षेत्रमा शुरु भएको हिमवत्खण्ड नेपाल माहात्म्य एवं शिव महापुराण विश्व कल्याण ज्ञान महायज्ञ–२०८२, उल्लासपूर्वक जारी रहेको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको ऐतिहासिक हिमवत्खण्ड साथै नेपाल महात्म्य शिव महापुराण श्रावण महिनाभर हुने छ । जसको श्रावण १ गते श्रीधाम बृन्दावन षड्दर्शन विश्व अखडा परिषद नेपालका (प्रमुख प्रभारी) परमपुज्य महाराज श्री १०८ नारायण दास नागा (बुलेटबाबा)को बिशेष आतिथ्यता र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवं महायज्ञका संकल्पकर्ता राजानन्द माण्डव्यको अध्यक्षतामा उद्घाटन गरिएको थियो ।
पशुपति क्षेत्र भित्र पर्ने सुमार्र्गी भवन अगाडि हिमवत्खण्ड, नेपाल माहात्म्य, शिव महापुराणको बाजा गाजा, बिभिद भेषभुषाका प्रस्तुतीसहित विशिष्ठ व्यक्तित्वहरुको उल्लेख्य उपस्थितिमा शुभारम्भ भएको थियो । अहिले भक्तजनहरुको बाक्लो उपस्थिति भैरहेको छ । महायज्ञको पाँचौ दिनहुँदासम्म भक्तजनहरु उपस्थिति र दान गर्नेहरु बढ्दै गएको आयोजकले बताए । अहिले व्यासाचार्य पं. दिपकिशोर भट्टराई, आचार्य सरस्वती चौलागार्ई (शाकम्भरी), गार्र्गी चौलागाई (शाम्भवी), पं. वालकृष्ण अर्याल आदिले कथा वाचन गरिरहेका छन ।
अब वाचन प्रविण प.दिनवन्धु पोख्रल, आचार्य पं.कविन्द्र न्यौपाने, आधार्यमी सत्रोलजी महाराज, व्यासाचार्य सुमी मानव, देवी अभियान शर्मा, व्यासाचार्य सञ्जेलजी महाराज, व्यासाचार्य पं चैतन्यकृष्ण महाराजजी, पं. नारदमणि पौड्याल, व्यासाचार्य पं. केशव प्रसाद नेपाल, बाल व्यास द्वय पं.कविन वस्ती, पं. विश्वदेव दाहाल लगायतका धार्मिक व्यक्तित्वहरू बाट श्रावण महिना भरि कथा वाचन हुने छ ।
वि.सं. २०७० साल पौष १७ गतेबाट राष्ट्रिय पोशाक दिवसको स्थापना गर्दै नेपालको मौलिक संस्कृति र पहिचानलाई जीवन्तता दिएर बाह्रौं राष्ट्रिय पोशाक दिवस तथा टोपी दिवस सम्पन्न गरिसकेको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल एक सामाजिक गैरनाफामूलक संस्था हो । वि.सं २०७५ सालबाट राष्ट्रिय ध्वजाको संरक्षण गर्दै राष्ट्रिय झण्डा दिवस स्थापना गरी नेपालको पहिचान र राम्पदालाई संसार सामु चिनाउन अनवरत लागि परेको छ । राष्ट्रिय विनूतिहरूको संरक्षण, ओझेलमा परेका धार्मिक सम्पदाको संरक्षण, धार्मिक तथा आध्यात्मिक जागरणमा सक्रिय संस्थाले गौ संरक्षण र कैलाशधाम निर्माण गर्नका यो धार्मिक कार्यक्रम आयोजना गरेको हो ।
भगवान शिवको प्रिय महिना श्रावणको अवसरमा राष्ट्रदेव श्री पशुपतिनाथको पवित्र प्राङ्गणमा पुगी श्रावण महिना भरि पशुपतिनाथको दर्शन, गङ्गाजल अभिषेक र गीता प्रवचनमार्फत आध्यात्मिक उन्नति र आत्मिक शान्तिको लाभ लिन आयोजकले भक्तजनलाई आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *