नव क्षितिज साप्ताहिकका प्रधान सम्पादक नवराज बजगाई र सह–सम्पादक अरबिन्द्र गौतम शनिबार एकै दिन फरक–फरक कार्यक्रममा सम्मानित भएका छन । नवराज बजगाईले राष्ट्रिय रत्न सम्मान पाएका छन । भने अरविन्द्र गौतमले उत्कृष्ट युवा पत्रकारिता सम्मान–२०२५ प्राप्त गरेका छन ।
शनिबार समारी इन्टरनेशनल इभेन्टले भक्तपुर बोडेमा आयोजना गरेको भव्य कार्यक्रममा बजगाईलाई अग्रज पत्रकारको रुपमा राष्ट्रिय रत्न सम्मान–२०८२ प्रदान गरिएको हो । कला, साहित्यसँगै सामाजिक सेवा क्षेत्रमा समेत अग्रणी, समर्पित र निःस्वार्थ व्यक्तित्वका रूपमा जिम्मेवार बजगाईले पत्रकारिता, सार्वजनिक सेवा प्रसारण र नेपालको मिडिया परिदृश्यमा सत्य र नैतिक सञ्चारको मूल्यलाई कायम राख्न दुई दशक लामो प्रतिबद्धता सहित जनसञ्चारको रचनात्मक संलग्नता क्षेत्र मार्फत जनमतलाई आकार दिन, नागरिक चेतना जगाउन र लोकतन्त्रलाई सुदृढ पार्न आवाज र कलम मार्फत महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरिएको सामरी इन्टरनेशनल इभेन्टका प्रमुख भरत सामरीले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ लामा तामाङ, इभेन्टका प्रमुख भरत सामरीलगायतले सम्मान गरेका थिए ।
त्यसैगरी सोहि दिन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न ‘सातौं संस्करण किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा सह–सज्पादक अरविन्द्र गौतमलाई ‘उत्कृष्ट युवा पत्रकारिता सम्मान–२०२५’ प्रदान गरिएको हो ।
बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गौतमलाई सम्मान गरेका थिए । काभ्रेपलाञ्चोकको विकट क्षेत्र चौबासबाट आएका गौतम विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन । उनले विकृति, विसङ्गति, संस्कृति, कला, राजनीति र जनचासोका विषयमा सत्य तथा खोजमूलक सामग्री प्रस्तुत गर्दै आएका छन । सामाजिक यथार्थ र सांस्कृतिक विषयमा आधारित डकुमेन्ट्री निर्माणमा समेत उनी सक्रिय छन । यसअघि पनि उनले विभिन्न राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेका छन ।