आज घटस्थापना–यस्तो छ जमरा राख्ने विधि


बनेपा, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नेपालीको महान पर्व बडादशैं आजदेखि शुरु भएको छ । आज घटस्थापना हो आजैदेखि सोह्रश्राद सकिएर नवरात्री आरम्भ हुन्छ ।
आज जमरा राखिन्छ भने घटस्थापना गरी देवी–देवताको आवाहन पनि गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन शुरु भएको हो ।
घरको पुजाकोठा या अन्य पवित्र स्थानमा माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको प्रतिमूर्ति (प्रतिमा) स्थापित गरी घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचार अथवा षोडशोपचारले पूजाआजा गरिन्छ ।
बडादशैंको पहिलो दिन घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनादेखि घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । दशैका नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।
यस्तो छ घटस्थापना गर्ने विधि–लिपपोत गरी चोख्याइएको शुद्ध स्थान अथवा मंदिरमा घटस्थापना गर्नुपर्छ । प्रारंभमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरी त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्नुपर्छ । थालीमा देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित भगवती दुर्गाको पूजा प्रारम्भ गर्नुपर्छ ।
यसै विधिलाई घटस्थापना भनिन्छ । यसपछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ । यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ । नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शन आदि गरिन्छ । यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ ।
पूजनीया जनैर्देवी स्थाने स्थाने पुरे पुरे ।
गृहे गृहे शक्तिपरैग्र्रामे ग्रामे वने वने ।।
स्नातैः प्रमुदितैर्हृष्टैब्र्राह्मणैः क्षत्रियैः नृपैः ।
वैश्यैः शूद्रैर्भक्तियुक्तैम्र्लेच्छैरन्त्यैश्च मानवैः ।।
नवरात्रमा सबै मानवले देवीको पूजा गर्न सक्छन् र सबैले गर्नुपनि पर्दछ । नवरात्रको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फलप्राप्ति हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *