काभ्रेमै सुरु भयो सवारी चालक अनुमति पत्र छपाइ


सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै सुरक्षण मुद्रण केन्द्रको मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत काभ्रेको आईटी पार्कमा लाइसेन्स छपाइ सुरु भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मेसिनबाट छपाइ शुभारम्भ गर्दै कानुनी जटिलता र विविध कठिनाइका बाबजुद लाइसेन्स छपाइ सुरु गरिएको बताए । उनले भने, “वर्षौँदेखि मेसिनहरू प्रयोगविहीन अवस्थामा थन्किएका थिए । धुलो लागेको, खण्डहर जस्तो बनेको ठाउँमा अहिले छपाइ सुरु गरिएको छ ।” मन्त्री खरेलका अनुसार केन्द्रको मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर र हुलाक टिकटलगायतका सामग्री छाप्न सकिनेछ ।
पहिले लाइसेन्स, राहदानी र राष्ट्रिय परिचयपत्र जस्ता महत्वपूर्ण दस्तावेज सधैं विदेशी कम्पनीलाई ठेक्का दिएर छापिने गरिन्थ्यो । तर, पूर्वाधार र स्रोत साधन हुँदाहुँदै पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर यो प्रक्रिया सुरु गरिएको हो । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले कानुनी र प्राविधिक जटिलताहरू समाधान गरेर छपाइ सुरु गरिएको बताए । पहिलो चरणमा १२ लाख लाइसेन्सको छपाइ सम्झौता अनुसार काम सुरु भएको छ । सुरुमा दैनिक पाँच सय छापिने व्यवस्था छ, र आवश्यकतानुसार मात्रा बढाइनेछ । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार केन्द्रले नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिसा स्टिकर पनि छाप्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *