मन्त्री आए उद्घाटन गरे, लाइसेन्स आएन


सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै सुरक्षण मुद्रण केन्द्रको मेसिनबाट छाप्न सुरु गरेको भएपनि सेवाग्राहीले भने कहिले पाउने एकिन भएको छैन । गत कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आईटीपार्कमा रहेको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य सुरू गरेको १० दिन बितेको भएपनि छापिएका लाइसेन्स यातायात व्यवस्था विभागमा पुगेका छैनन् । यो सँगै सेवाग्राहीले कहिले पाउने भन्ने अन्योल पनि कायमै छ ।
केन्द्रलाई छपाइका लागि दिएको ५०० लाइसेन्स विभागमा नआएपछि कहिलेबाट आउने हो भन्ने विभागका कर्मचारी नै अलमलमा रहेका छन् । मन्त्रीले दैनिक करिब ५०० वटा लाइसेन्स छाप्ने बताए पनि अति आवश्यक परेका सेवाग्राहीहरू कहिलेबाट वितरण हुन्छ भनेर अझै अलमलमा छन् ।छापिएका लाइसेन्सको ल्याब टेस्ट गरिरहेको जनाएको छ । नेपालको ल्याब टेस्टले नपुगेमा विदेश नै ल्याब टेस्टका लागि पठाउने केन्द्रले बताएको छ । मन्त्रीलाई लगेर लाइसेन्स प्रिन्टको आरम्भ गरेको केन्द्रले अहिले नयाँ लाइसेन्सको टिकाउपनको जाँचका लागि काठमाडौं युनिभर्सिटी (केयू) मा पठाएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाको भनाई छ ।
मन्त्रीले सार्वजनिक रूपमा स्याम्पल देखाएको अघिल्लो दिन नै प्रिन्ट गरेर परीक्षणका लागि पठाइएको थियो । हाल यातायात व्यवस्था विभागबाट थप डाटा उपलब्ध गराउन माग गरिएको ढुङ्गानाले बताए । यातायात व्यवस्था विभागले भने पहिलो चरणमा केन्द्रलाई दिएको ५०० प्रति लाइसेन्स छपाइ भएर नआएकाले थप डाटा नदिएको जनाएको छ । केन्द्रले लाइसेन्स छपाइ गरेर दिएपछि विभागले अति आवश्यक परेकालाई लाइसेन्स वितरण गर्ने बताएको छ । वैदेशिक रोजगारीमा जाने, विदेश अध्ययनका लागि जाने, मिसनमा जाने र नेपालमा पनि अति आवश्यक भएकालाई विभागले तत्काल लाइसेन्स प्रिन्ट गरेर दिन खोजेको थियो । हाल करिब ३० लाख लाइसेन्स प्रिन्ट गरेर दिन बाँकी रहेको छ ।
विभाग र केन्द्र बिच जी–टु–जी सम्झौता गरेर लाइसेन्स छाप्ने सहमति भएको थियो । सुरक्षण मुद्रण केन्द्रले प्रति लाइसेन्स छाप्दा कर बाहेक १९५.१७ पैसा शुल्क तोकेको छ । यातायात मन्त्रालयले लाइसेन्स छपाइको लागि २७ करोड ६० लाख बजेट दिएको थियो । त्यो बजेटले करिब १२ लाख लाइसेन्स छपाइ हुनेछ । ३० लाख लाइसेन्स छाप्न बाँकी भए पनि अहिले बजेट पर्याप्त नभएकाले १२ लाख मात्रै छपाइ गर्ने विभागको तयारी रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *