बनेपा, गत वर्षहरु भन्दा यो वर्ष शैक्षिक सत्रको नियमित पठनपाठन केहि फरक भएको छ । वैशाख १५ देखि भर्ना र २१ गतेदेखि नियमित पठनपाठन गराउन मन्त्रालयको निर्देशन भएसँगै पठनपाठन केहि ढिला हुने भएको हो ।
मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार मन्त्रालयले शैक्षिक सत्र २०८३ को भर्ना अभियान १५ वैशाखबाट सुरु गर्न र नियमित पठनपाठन २१ वैशाखबाट सुरु गर्न संस्थागत र सामुदायिक विद्यालयहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको हो । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले ०८३ को शैक्षिक सत्र १५ वैशाखबाट सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि अभिभावक, विद्यालय र विद्यार्थीमा भर्ना र नियमित पठनपाठनबारे अलमल थियो । विद्यालयहरू १५ वैशाखदेखि भर्ना अभियान वा पठनपाठन गर्ने भन्नेबारे अलमल थिए । मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसलाई स्पष्ट पार्दै २१ वैशाखदेखि नियमित पठनपाठन सुरु हुने बताएको हो ।
मन्त्रालयले २ वैशाखदेखि प्रवर्धनात्मक तथा विद्यार्थी र शिक्षकहरूलाई रचनात्मक शैक्षिक कार्यहरू गराउनसमेत अनुरोध गरेको छ । जसमा शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण तयारी गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकको पेसागत क्षमता विकासका कार्यहरू सञ्चालन गर्ने, विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माणलगायत छन ।
नयाँ शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी लिनको लागि स्कुलहरुले आकर्षक विज्ञापन गर्ने गरेका छन । अभिभावकले नारा भन्दा कानुन र भरोसा हेरेर भर्ना गराउनु पर्ने हुन्छ । यहि क्रममा सरकारले गतसाल देखि नै अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । कतिपय निजी विद्यालयले अवैध रूपमा विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । स्वदेशीमा पनि बुझेर मात्रै भर्ना गर्ने गरौ ता कि बालबालिकाको भविष्य नबिग्रियोस ।