व्यक्तिगत खातामा रकम जम्मा नगर्न काभ्रे प्रशासनको आग्रह


भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढीपीडितलाई सहयोग गर्न चाहने व्यक्ति, संघसंस्था तथा व्यवसायीलाई आधिकारिक माध्यमबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जारी गरेको अत्यन्त जरुरी सूचनामा विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न चाहने महानुभाव तथा संघसंस्थालाई तीनवटा महत्वपूर्ण आग्रह गरिएको छ ।
प्रशासनका अनुसार नगद सहयोग गर्न चाहनेले नेपाल सरकारको ‘दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा रहेका आधिकारिक बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् । साथै, जिन्सी सामान नेपाल सरकारले तोकेको स्थानमा आफैंले पुर्याई बुझाउन वा जिल्ला प्रशासन कार्यालयमा जम्मा गर्न सकिनेछ । जिल्ला प्रशासन कार्यालयमा संकलन हुने राहत सामग्री राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार समन्वय गरी पीडित नागरिकसमक्ष पु¥याउने व्यवस्था मिलाइने सूचनामा उल्लेख छ ।
त्यस्तै, बाढीपीडितलाई सहयोग पु¥याउने भन्दै व्यक्तिगत वा संस्थागत बैंक खाता तथा क्यूआर कोडमार्फत रकम संकलन नगर्न प्रशासनले सबैलाई सचेत गराएको छ । कसैले त्यस्तो गतिविधि गरेको पाइएमा तत्काल जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र वा नजिकको प्रहरी वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ । प्रशासनले विपद्को यस कठिन अवस्थामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्न चाहने सबैलाई आधिकारिक र पारदर्शी माध्यमबाट सहयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको सूचनाले बाढीपीडितका नाममा हुन सक्ने अनधिकृत रकम संकलन तथा ठगी नियन्त्रण गर्दै वास्तविक पीडितसम्म राहत पु¥याउने उद्देश्य लिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *