धुलिखेल, केहि दिन अघि मात्रै काभ्रेमा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले प्रशासन कार्यालयबाट हुने सेवालाई प्रभावकारी र सरल बनाउन राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि ५ वटा अभियान सुरु गर्नु भएको छ ।
बिहीबार कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले केही दिन असुविधा जस्तो देखिए पनि दीर्घकालीन रुपमा सहज हुने गरी कार्य प्रारम्भ गरिएको बताउनु भयो । गत बिहिबारदेखि राहदानी प्राप्त गर्न आउने सेवाग्राहीहरूका लागि टोकन प्रणाली सुरु गरिएको बताउँदै पौडेलले टाइम कार्ड र टोकन एकै पटक वितरण गरे पछि राहदानीका लागि फाराम भरिदिने कार्य पनि कार्यालय आफैले गरिदिने जानकारी दिनु भयो । यसले नागरिकहरूले अन्यत्र फाराम भर्दा लाग्ने अतिरिक्त शुल्क तथा प्रक्रियामा पनि सहज र सरलीकरण हुने छ । हाल राहदानीको फाराम भर्दा फाराम भरे बापत सेवाग्राहीले २ सय देखि ५ सय रुपैयाँसम्म राहदानी भर्नेलाई बुझाउँदै आएकोमा अब भने त्यो अनावश्यक खर्च ब्यहोर्नु नपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा फोटो खिच्ने, राजश्व बुझाउने र अन्य प्रक्रिया झन्झटिलो हुने गरेकोमा अब प्रक्रियालाई सहज र सरल बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले पहिलो पटक टाइम र टोकन एकै पटक वितरण गरेको हो । सेवामा सरलीकृत गर्ने उद्देश्यले राहदानीबाट सुरु भएको यो प्रक्रिया नागरिकता र राष्ट्रिय परिचयपत्रमा समेत लागु गरिने छ । राहदानीका लागि सेवाग्राहीले नागरिकता, विवाह गरेको अवस्थामा विवाह दर्ता, राष्ट्रिय परिचय पत्र खिचेको कागज तथा पुरानो राहदानी भए त्यसको सक्कलै र हराएको अवस्थामा त्यसको फोटोकपी सहितका कागजात पेश गर्नु पर्नेछ । प्रशासन कार्यालयका अनुसार टोकन र टाइम लिएको व्यक्ति घण्टौँ लाइनमा बस्नु पर्ने छैन । पहिलो दिन समय नपाएको अवस्थामा प्राप्त गरेको दिन र समयमा आएर आफ्नो कार्य गर्न सक्नेछ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयले बिदाको दिनमा समेत कार्य गर्ने गरी योजना बनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । राष्ट्रिय वाणिज्य बैकको काउन्टर पनि बिदाको अवधिमा समेत खोल्ने गरी प्रशासन कार्यालयले व्यवस्था गरेको छ ।
नागरिकलाई अनावश्यक झन्झट हुन नदिन कार्यालयले ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि भने फरक व्यवस्था गरिएको छ । राहदानीको फाराम भरे सँगै सेवाग्राहीले आफ्नो विवरण आफै हेरेर मात्रै सही छाप गरेपछि प्रशासनले प्रक्रियालाई अगाडी बढाउने छ । यो प्रक्रियाले प्रशासनमा राहदानी तथा अन्य सेवाका लागि हुने भिड नियन्त्रण हुन सक्ने अपेक्षा प्रशासनले गरेको छ । राष्ट्रिय परिचयपत्र नलिने व्यक्तिहरूले भने राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाएको तीन दिन पछि मात्रै राहदानीको फाराम भर्न सक्नेछन् ।