रोशी, जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । अवलोकन भ्रमण कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको सहभागीता रहेको थियो । शनिबार तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण भएको हो ।
उक्त कार्यक्रममा चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले विकास मागेका हुन । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तिनधारे झरनाको प्रवद्र्धनगरेर आर्थिक उपार्जनमा लाग्नु पर्ने बताए । त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कन्साङ लामाले चार जना प्रदेश मन्त्री पर्यटकीय स्थलमा उभिएपछि विकासको मूल फुट्नेमा विश्वास लिएको बताए । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको पालिका भएको बताए । रोशीमा चैतेपानीमा नेपालकै एक मात्र ठाउँमा पाईने १२ बर्षमा फूल्ने निलम्बरी फूल पाईने स्थान पनि भएको जानकारी दिए । त्यस्तै भूमेचुली डाँडा, तिनधारे झरना, हात्तीआहाल, ताराखसे लेक तथा पोखरी लगायत रोशी गाउँपालिका भित्र पर्यटकीय स्थल रहेको लामाले बताए । ति स्थलहरूको विकास र प्रर्वधनका लागि गाउँपालिकाले मात्र सम्भव नहुने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । विकासप्रेमी मन्त्रीहरूले त्यसका लागि सकारात्मक सहयोग पाउने विश्वास लिएको अध्यक्ष लामाले बताए ।
रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले पनि रोशीको बिकासमा सहयोग गर्नुपर्नेमै जोड दिए । पालिका समृद्ध हुदा जिल्ला समृद्ध हुने जिल्ला समृद्ध हुदा प्रदेश समृद्ध हुने र प्रदेश समृद्ध हुँदा देश समृद्ध हुने भएकाले पालिका समृद्धमा सहयोग गर्न अनुरोध गरे । रोशीकासमाजसेवी सार्कीमान वल र वडाध्यक्ष हस्तमान लामाले तिनधारे झरनाको विकासका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले बागमती प्रदेशले सहयोग गर्नुपर्ने बताए । मिक्साङ वाईबाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामाले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यको क्रममा लामाले मन्त्रीहरू स्वयम आएपछि तिनधारेदेखि ताराखसे लेकसम्म पदमार्ग निर्माण हुने, दाप्चादेखि तिनधारेसम्म सडक कालोपत्रे हुनेमा विश्वस्थ भएको बताए ।
कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना लामाले तिनधारे झरना संरक्षण संवर्धनका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीय स्थल बन्न सक्ने उनको भनाई थियो । ‘मैले फोटोमा मात्र देखेको यो तिनधारे झरनामा आईपुग्दा साच्चै मनमोहक स्वर्गीय आनन्द दिने रहेछ ।’ मन्त्री लामाले भने, ‘यो क्षेत्रको बिकासका लागि बागमती प्रदेश प्रतिबद्ध छ । यसको विकासका लागि बागमती प्रदेशले के कती सक्छ साथ र सहयोग गर्न तयार छौँ ।’ झरनाको प्रवद्र्धनगर्न सके यस भेगको स्थानीयले आर्थिक उपार्जन गर्न सक्ने र आर्थिक समृद्धि हुने उनले बताए ।
खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले पर्यटकीय स्थल तिनधारे झरनाको विकासको लागि सदैव लाग्ने बताए । देशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर लैजानुपर्ने उनको भनाई छ । दाप्चा–फलामेसँघु–काफलडाँडा तिनधारे झरनासम्म सडक स्तरोन्नती हुने उनले बताए । कार्यक्रममा उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफ्नो मन्त्रालयले सक्ने र मिल्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताए बताए ।