बनेपा, काभ्रेलगाएत देशमा पछिल्लो समय आत्महत्याको क्रम ह्वात्तै बढेको छ । एक महिनामा एक दर्जनको हाराहारीमा जिल्लामा आत्महत्या भएका छन । भने देशभर यसैगरी आत्महत्याको घट्ना घटी रहेका छन ।
पछिल्लो तथ्यांकलाई हेर्ने हो भने आत्महत्याको ७५ प्रतिशत विकासोन्मुख देशमा भएको देखिन्छ । नेपाल पनि विकासोन्मुख देश हो र आत्महत्याको उच्च जोखिम छ । अनि प्रत्येक दिन सरदर ७ देखि १० जनाले आत्महत्या गर्ने हाम्रो मुलुकमा यो समस्या विकराल र साझा समस्या बन्न पुगेको छ । कतिपयले भन्ने गर्दछन आत्महत्या गर्न साहस चाहिन्छ, वा गम्भीर निराशाका कारण आत्महत्या हुने गर्दछ भनिए पनि यकिन गर्न गाह्रो छ । आत्महत्या अत्यन्त जटिल प्रक्रिया हो । आत्महत्याको एउटै कारणले हुन्छ वा एउटा मात्र कारणले भूमिका खेलको हुन्छ भन्न सकिँदैन ।
तथापि आत्महत्या एउटा मानव मनोविज्ञानभित्रको जटिल अन्र्तद्वन्द्वको उपज नै मान्न सकिन्छ । कारण अनेकन हुुुुुन सक्लान तर मानसिक समस्या नै आत्महत्याको प्रमुख कारण हो जसमा अन्य सामाजिक, आर्थिक, पारिवारिक तथा अन्य व्यवहारिक पक्ष समस्या बन्दै उत्प्रेरक भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
नेपालमा पनि अधिकांश आत्महत्याको कारण व्यवहारिक पक्ष समस्या बनेको पाइन्छ । यसका कारक तत्वमा जीर्ण रोग, आफन्त गुमाउदाको पिडा, एकल जीवन, वैदेशिक रोजगारका सामाजिक असर, असफल प्रेम, परीक्षामा असफलता, क्षणिक आवेग, दाइजो प्रथा, अज्ञानता, पारिवारिक झै झगडा लगायत रहेका छन् ।
हामीले प्रायः आत्महत्या क्षणिक आवेगमा आएर गरेको जस्तो देख्छौं । तर यो सरासर भ्रम हो । समस्याका कारण जे भए पनि आत्महत्या कम गर्न समाजले नै भूमिका खेल्नु पर्छ । धेरै निराशा, उतारचढाव, लगायतको चाङ बढेसँगै एउटा श्रृङ्खलात्मक र योजनावद्ध रुपमा भएका हुन्छन् । प्रथमतः यो कुरा सबैले बुझ्नु जरुरी छ । हामीले सुक्ष्म रुपमा मनन गर्ने हो भने प्रायले आत्महत्या गर्नुअघि खतराको संकेत दिन्छन् । उनीहरुले आफ्नो समाज परिवार साथीभाइसँग ती संकेत कुनै न कुनै मध्यमबाट प्रस्तुत गरेका हुन्छन् । मनोवैज्ञानिकको भनाइ मान्ने हो भने पनि आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नुपूर्व कसैको सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । कसैले उनीहरूको कुरा सुनिदेओस् भन्ने चाहना राखेका हुन्छन् ।
उनीहरुको यो इच्छालाई बुझ्न सकियो र बचाउन सकियो भने जीवन रक्षा गर्न सकिन्छ । समाज, परिवार र आवश्यकता अनुसारको परामर्श उपचारले हामी आत्महत्यालाई रोकथाम गर्न सक्छौ । यो कुरा नभुलौँ । निराशा, घरायसी झैझगडा न्यूनिकरण गरौँ, गराऔं । यसबाट पीडित हुन सक्ने व्यक्तिको पहिचान गर्नु हाम्रो प्रमुख चुनौति हो । त्यस्ता व्यक्ति पहिचान गरौ र साहस र ढाडस दिने गरौँ । प्रसन्न तुल्याउने कोशिस गरौँ । आत्महत्या कम गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेलौँ ।