फैलिदै आँखा पाक्ने रोग, यसरी बचौं ?

बनेपा, केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।
हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. सुशान्त अडिगाले जानकारी दिए । प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेलका अनुसार कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छन, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन ।

‘इन्फेक्सनले आँखामा सूक्ष्म जीवाणुलाई असर गर्ने गर्छ’, डा. पोखरेल भन्छन्, ‘त्यसबाहेक पनि आँखामा एलर्जी, धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा प¥यो भने पनि आँखा पाक्ने समस्या हुन्छ ।’
डा. अडिगाका अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । ‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन असर भने गर्दैन । तर, कसैमा संक्रमण फैलिएर आँखाको नानीमा जान सक्छ’, डा. अडिगाले भने, ‘आँखाको नानीमा संक्रमण भएमा घाउ हुने सम्भावना हुन्छ ।’

आँखाको नानीमा असर गर्दा घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गाह्रो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्या पनि रहन सक्छ । चिकित्सकका अनुसार समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एक देखि दुई हप्तामा आफैं कम हुँदै जान्छ । कसै–कसैमा लामो समयसम्म पनि रहन सक्छ ।
चिकित्सकका अनुसार आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ ।

विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ । ‘तर आँखा पाकेको मानिसमा हेर्दैमा रोग सर्दैन । आँखा पाक्ने रोग आँसुबाट मात्रै सर्छ’, डा. पोखरेल भन्छन् ।
चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । ‘आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ’, पोखरेलले भने ।

डा. अडिगा भने आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिन्छन् । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनी बताउँछन् । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।

घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन । आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न, आँखा छुनुभन्दा अगाडि राम्रोसँग साबुन–पानीले हात धुने, सफा पानीले आँखा धुने, रुमाल, तौलियाबाट आँसुमार्फत भाइरस तथा ब्याक्टेरिया एकअर्कोमा सर्ने हुँदा आँखा पाकेकाको आँसु, चिप्राबाट बच्ने र उनीहरुले प्रयोग गरेका रुमाल र तौलिया प्रयोग नगर्न चिकित्सकहरु सुझाव दिन्छन् । –बिभिन्न अनलाईनको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *