बनेपा, अहिले देश व्यापी रुपमा डेंगी रोगको प्रकोप बढीरहेका छ । प्राय तराईमा देखिने डेंगी रोगको प्रकोप पछिल्लो समय पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । यतिबेला यसको प्रकोपबाट काभ्रेपनि अछुतो रहेन ।
एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाटसर्ने डेंगी रोग वर्षातको समयमा बढी देखापर्छ । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ । डेंगीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ ।
यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । डेंगी एक भाइरस हो । सामान्यतया अरु संक्रमण जस्तै डेंगी हुदाँ ज्वरो आउने, आँखा अगाडिको भाग दुख्ने, शरीर गल्ने, टाउको दुख्ने हुन्छ । यस्तो समस्या आफै निको भएर जान्छ ।
कसैलाई ब्लिडिङ सिस्टममा समस्या देखियो, प्लेटलेट्स कम भयो भने रातो डावर देखिने, फोका जस्तो देखिने, रगतको डावर देखिने हुन्छ । यस्ता लक्षण देखिनासाथ अस्पताल गएर जाँच गर्नुपर्छ । अनि मात्रै बिरामीको समयमा नै उपचार हुन्छ ।
डेंगी भाइरस बाट लाग्ने रोग हो । डेंगी भएको व्यक्तिलाई लामखुटटेले टोकेर अर्को निरोगी व्यक्तिलाई टोक्यो भने डेंगी सर्ने गर्छ । यो लामखुटटेबाट नै सर्ने गर्छ । अहिले सबै पालिकामा डेंगीको लार्भालाई खोज्ने र नष्ट गर्ने अभियानका रुपमा काम भैरहेको भएपनि यो प्रकोप मंसिरसम्म देखिन सक्छ । त्यसैले पनि सबैजना सचेत हुन आवश्यक छ । त्यसको लागि आफ्नो घर वरीपरीको वातावरण सफा राख्नुपर्छ । स्कुल तथा समुदायमा जनचेतनाका कार्यक्रम चलाउनुपर्छ । यो सिजनमा धेरै पानी पर्ने भएकाले घरवरीपरी पानी जम्न दिनुहुँदैन । कपडा लगाउँदा फूल बाउला भएको कपडा लगाउनुपर्छ । लामखुट्टेले टोक्ने ठाउँमा फुल कपडा लगाएर वा सावधानी अपनाएर मात्र जानुपर्छ ।
यसका लक्षण तथा चिन्हहरूः
सामान्यतः डेङ्गु भाइरसको सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिँदैनन वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ । सङ्क्रमित मध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिस यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्छन । यो रोग छिप्पिन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।
प्रायजसो बालबालिकामा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन । त्यस्तै बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखापर्छ । डेङ्गुको पहिचानका लागि मुख्य लक्षण अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने आदि हुन । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।
यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ, लक्षण सुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था रिकभरी । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन ।
यो अवस्था प्रायजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्छ । वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्छ । डेङ्गुको सङ्क्रमण भएका ५०–८० प्रतिशत बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखापर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरू देखा पर्छन । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्छ । यस्ता फोकाहरूलाई अङ्ग्रेजीमा आइसल्यान्ड अफ ह्वाइट इन अ सी आफ रेड ९रातो समुन्द्रमा गोराहरूको टापु भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोसिकाहरू फुटेर छालामा ससाना थोप्ला देखापर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखापर्छन ।
यसबाट बच्न डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाडाहरू जस्तै गमला फुलदान खाली बट्टा अलकत्र वा मट्टीतेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिने । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।