आज खीर खाने दिन, यसरी बनाउनुस् खीर

बनेपा, आज साउन १५ गते, खीर खाएर यो दिन मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण मानिन्छ ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको मान्न सकिन्छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने चलन रहिआएको छ ।

कसरी बनाउने घरमै खीर ?
खीर पकाउन भिजाएको चामल, मन तातो दुध, घ्यू, चिनी, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फुडको रूपमा नरिवल, बदाम, किसमिस, काजु प्रयोग गर्न सकिन्छ । चामल भने बासमती, मोट्टो आफूसँग जुन छ त्यसैलाई प्रयोग गर्न सकिन्छ तर दुई घण्टासम्म चिसो वा मनतातो पानीमा भिजाइएको भने हुनुपर्छ ।

चामलको मात्रा हेरी घ्यु भने एकदेखि दुई चम्चा तथा केही टुक्रा ‘ड्राई फुड’ प्रयोग गर्न सकिन्छ । खीरलाई कराई वा प्यानमा पकाउन सकिन्छ । यसका लागि आगोमा भाँडो बसाई सकेपछि केहीबेर त्यसलाई तताउने र त्यसमा एक चम्चा घ्यू हाल्ने गर्नुपर्छ । याद राख्नुहोस आगो (हिट) मध्यम हुनुपर्छ । घ्यू पग्लिसकेपछि त्यसमा भिजाइएको चामल हालेर ३ मिनेटसम्म भुट्नुपर्छ । चामल केहि बेर भुटिसकेपछि भने त्यसमा मनतातो दुध हाल्नुपर्छ ।

उदाहरणका लागि एक कप भिजाएको चामलको लागि ५ कप दुध आवश्यक पर्छ । आफूलाई कति खीर पकाउन खोजिएको हो त्यसै अनुरुप चामल र दुधको मात्रा बढाउन सकिन्छ । केहि बेर भुटेको चामलमा दुध हालिसकेपछि त्यसलाई डढ्न नदिन १५ मिनेट सम्म निरन्तर चलाई रहनुपर्छ । यसो गर्दा खीर पाक्दै जानुका साथै बाक्लो पनि हुँदै जान्छ । जब खीरमा बाक्लो हुँदै जान्छ र सुक्नलाई थोरै दुध मात्र बाँकी रहन्छ तब त्यसमा अघि तयार पारिएर राखिएको ड्राई फुड र चिनी हालेर ३ देखि ५ मिनेटसम्म चलाउनुपर्छ । यति गरी सकेपछि खीर तयार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *